द सिनेमा टाइम्स, काठमाडौं । आइतबार काठमाडौंमा एक भव्य कार्यक्रमको आयोजना गर्दै सर्वकालिन ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’को सक्सेस पार्टी दिइएको थियो । सिनेमाको सफलताको खुशीयाली मनाउने कार्यक्रममा सिनेमामा का मगर्ने कलाकार तथा प्राविधिकलाई नगदसहित सम्मान गरिएको थियो ।
सोही कार्यक्रममा सिनेमाका निर्माता विनोद पौडेलले दुई सिनेमाको निर्माण घोषणा गरेका थिए । एक जौन योन्जन निर्देशित रोल नम्बर १ र अर्को ‘पूर्ण बहादुरको सारङ्गी २’ घोषणा गर्नुका साथै निर्माण कम्पनि सेभेन सिज सिनेमाजको नयाँ लोगो समेत अनावरण गरिएको थियो । सिनेमाको सफलता पार्टी मनाउन निर्देशक सरोज पौडेल पनि उपस्थित थिए ।
निर्माता विनोद पौडेलले ‘पूर्ण बहादुरको सारङ्गी’को सिक्वेल निर्माणको औपचारिक घोषणा गरे । तर, न निर्देशक न त कलाकारको नाम नै सार्वजनिक गरियो । सिनेमाको सिक्वेल निर्माण हुने भएपछि निर्देशक तथा कथाकार सरोज पौडेलले असहमति व्यक्त गरेका छन् । सोमबार विहान समाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै असन्तुष्टी व्यक्त गरेका हुन् ।
निर्देशक पौडेलले सिनेमाले कोरेको इतिहासलाई कमाइ खाने भाँडो नबनाउन निर्माण टिमलाई उनले आग्रह गरेका छन् । ‘इतिहास घरिघरि कोर्न सम्भव हुँदैन । त्यही कारण ‘पूर्णबहादुरको सारंगी’ले कोरेको इतिहासलाई इतिहास नै बनाइ सम्मानपूर्वक राखौं । यसलाई कमाइ खाने भाडो बनाउन खोज्दा आफ्नै हातले बनाएको इतिहास आफ्नै कारण भत्किन सक्छ’, निर्देशक पौडेलले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
‘पूर्णबहादुरको सारङ्गी २’मा आफूले काम नगर्ने जानकारी पनि निर्देशक पौडेलले दिएका छन् । अनि, बिना जानकारी आफूले सिर्जना गरेका पात्र र मेरो कथालाई तन्काएर व्यापार गर्ने माध्यम नबनाउन उनको सुझाव छ । आफूले सिनेमामा काम नगरे पनि आवश्यक प्रक्रिया पूरा गर्न र ‘पूर्णबहादुरको सारंङ्गी’ले स्थापित गरेको गरिमा जोगाउन उनको आग्रह छ ।
सफल सिनेमाको सिक्वेल वा सिरिज बनाउनु हुँदैन भन्ने पक्षमा निर्देशक पौडेल उभिएका छन् । आफ्ना कथाहरु फरक शैलीमा भन्नुपर्ने उनको तर्क छ । ‘सकेसम्म २,३,४,६ बनाउनतिर नलागेर आफ्ना कथाहरु फरक शैलीमा भन्नु पर्दछ भन्ने मेरो मान्यतालाई नै निरन्तरता दिँदैछु । ‘कोशेढुङ्गा’मार्फत मैले मेरो कथाहरु भन्दैछु’, उनले अगाडि लेखेका छन् ।
निर्देशक पौडेलले केही समय अगाडी मात्रै नयाँ सिनेमा ‘कोशेढुंगा’ निर्देशन गर्ने घोषणा गरेका थिए । फागुनबाट फ्लोरमा निस्कने तयारीमा रहेको सिनेमाका लागि आर्यन सिग्देल, प्रवीन खतिवडा, सुरक्षा पन्त, नीति शाह, ऋचा शर्मा लगायतका कलाकारलाई अनुबन्धित समेत गरिसकेका छन् ।


प्रतिक्रिया