द सिनेमा टाइम्स, काठमाडौं । साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित सिनेमा ‘जार’को प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलबार निर्माण कम्पनि फेरी टेल पिक्चर्सले एक पोस्टर सार्वजनिक गर्दै ‘जार’लाई आगामी बैशाख २६ गतेबाट प्रदर्शनमा ल्याउने जानकारी गराएको हो ।
यो सिनेमा प्रदर्शनको लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले सहकार्य गरेका छन् भने अन्तर्राष्ट्रिय वितरकको रूपमा सेभेन सिज सिनेमा अनुबन्ध भएको छ । यही साता वितरण कम्पनिहरूसँग सम्झौता भएपछि निर्माण टिमले आधिकारिक प्रदर्शन मिति घोषणा गरेको हो ।
सिनेमाको सार्वजनिक पोस्टरमा मुख्य तीन पात्रलाई क्यारेक्टर लूक्समा देखाइएको छ । सिनेमाको शीर्ष भूमिकामा अभिनेताद्वय सौगात मल्ल, अनुपबिक्रम शाही र भारतीय राष्ट्रिय सिनेमा पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापा प्रस्तुत छन् । नेटफ्लिक्स सिरिज ‘सेक्रेड गेम्स’मा पनि गीताञ्जलीले अभिनय गरेकी छिन् ।
फूर्वा छिरिङ लामाको निर्देशनमा निर्माण भएको सिनेमाको सम्पूर्ण छायांकन सिक्किममा गरिएको छ । होप रिल्स, एलए सेभेन सट्र्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको सिनेमाको कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् ।
नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा सिनेमालाई एकसाथ प्रदर्शनमा ल्याउने निर्माण टिमले बताएको छ । यो सिनेमाले सन् १८ सयको दशकतिर नेपाली समाजमा घटेको एक यथार्थ घटनालाई देखाएको छ । सरवानन इलावार्सुको छायांकन रहेको सिनेमामा अखिलेश राईको सम्पादन छ । सिनेमामा झुमा लिम्बु र गंगा थापाको संगीत छ ।



प्रतिक्रिया