प्रिमियर शोमा ‘एक्टरः टेक वन’ उत्साहजनक प्रतिक्रिया

प्रिमियर शोमा ‘एक्टरः टेक वन’ उत्साहजनक प्रतिक्रिया

द सिनेमा टाइम्स
91
Shares

द सिनेमा टाइम्स, काठमाडौं । शहिद दिवसको अवसर पारेर भोली माघ १६ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘एक्टरः टेक वन’को सोमबार ग्रान्ड प्रिमियर गरिएको छ । भक्तपुरको राधे राधेस्थित क्युएफएक्स हलको झकिझकाउ सेटमा आयोजित प्रिमियर शोमा करिब सात सय जनाको उपस्थिति रहेको थियो ।

सिनेमाका मुख्य कलाकार प्रदिप खड्का, राजबल्लभ कोइराला, आना शर्मा र दिव्या रायमाझीको प्रिमियर प्रवेशले सबैको ध्यान खिचेको थियो । नेपाली सिनेमा क्षेत्रका कलाकारहरू सहित विशिष्ट व्यक्तित्वहरू, सिनेमा निर्माण टोलीका सदस्यहरू, उनीहरूका पारिवारिक सदस्य तथा व्यापारिक क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति प्रिमियर शोमा देखिएको थियो ।

प्रिमियर शोमा उत्साहजनक प्रतिक्रिया सिनेमालाई मिलेको थियो । सिनेमा हेरेर हलबार निस्कँदै गर्दा उपस्थित पाहुनाले सिनेमाको विषयवस्तु, प्रस्तुतिमा नयाँपन तथा कलाकारको उत्कृष्ट अभिनयको खुलेर प्रशंसा गरेका थिए । उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको सिनेमाका निर्देशक राजन भुसालको कामको तारिफ भएको थियो । यो भुसालको पहिलो निर्देशकीय सिनेमा हो ।

सिनेमाले प्रिमियरमा प्राप्त गरेको प्रतिक्रियाको आधारमा यसले नेपाली सिनेमाको मंसिर यता सेलाएको बजारलाई तताउने विश्वास गर्न सकिन्छ । साथै, प्रदर्शनपछि पनि दर्शकको मन जित्ने प्रबल सम्भावना देखाएको छ । निर्माण पक्षले ‘एक्टरः टेक वन’लाई नेपाली सिनेमा उद्योगमा फरक छाप राख्ने र दर्शकको ठुलो साथ पाउने अपेक्षा गरेको छ ।

सिनेमामा प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारको अभिनय रहेको छ । सिनेमाको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् ।

अधृत फिल्मस् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको सिनेमामा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह-निर्माता अनीश भुसाल रहेका छन् ।