‘दुःखी आत्मा’को पहिलो गीत ‘जुनी जुनी भरीलाई’ सार्वजनिक

‘दुःखी आत्मा’को पहिलो गीत ‘जुनी जुनी भरीलाई’ सार्वजनिक

द सिनेमा टाइम्स
168
Shares

द सिनेमा टाइम्स, काठमाडौं । फागुनको २ गते भ्यालेनटाइन डेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘दुखी आत्मा’को पहिलो गीत ‘जुनी जुनी भरीलाई’ सार्वजनिक भएको छ । केतन क्षेत्री र मुना ठटालको स्वर, इश्वर कार्कीको शब्द तथा संगीतमा तयार भएको गीतको अडियो कर्णप्रिय छ । उदयराज पौडेलले गीतको एरेन्ज गरेका हुन् ।

सार्वजनिक गीतको भिडियो रोमान्टिक शैलीमा तयार पारिएको छ । सिनेमाका मुख्य कलाकार दयाहाङ राई र आँचल शर्मालाई गीतको भिडियोमा फिचरिङ गरिएको छ । भक्तपुर दरबार स्क्वायरमा खिचिएको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् । आलोक शुक्लाको छायांकन रहेको गीतको भिडियोमा रामप्रसाद चौधरीको सम्पादन छ ।

यो सिनेमाको टिजर र ब्रेकअप कविता चर्चित भइसकेको छ । सामाजिक संजालमा ब्रेकअप कवितामा टिकटक बनाउनेहरुको संख्या लाख भन्दा माथि छ । अब, यो गीतले पनि दर्शकको ध्यान तान्ने आशा गरिएको छ । सिनेमाको टिजर सार्वजनिक भएसँगै ‘सिन्धृलीको जुनार’ संवाद खुबै हिट भएको छ । यसैले, कोरियोग्राफरले यो गीतमा जुनारको भरपुर प्रयोग गरेका छन् ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको सिनेमामा हिमाल कडरियाको लगानी छ । सुदिप ढकाल कार्यकारी निर्माता रहेको सिनेमामा निमेष श्रेष्ठको सम्पादन छ । एडल्ट ड्रामा जनरामा निर्माण भएको यो सिनेमाले यौनमा कमजोर रहेको एक पुरुषको कथा भन्छ । सिनेमाले रमाइलो तरिकाले गम्भिर विषयवस्तु उठान गरेको निर्माणपक्षको भनाई छ ।

क्लक वर्क क्रियशनको व्यानरमा निर्माण भएको सिनेमा दयाहाङ र आँचलको साथमा अनुप विक्रम शाही, वुद्दि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले, आरती आचार्य, लोकेन्द्र लेखक, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर लगायतका कलाकारहरुको अभिनय छ ।