‘एक्टरः टेक वन’को प्रदर्शन रोक्न जिल्ला अदालत काठमाडौंको आदेश

‘एक्टरः टेक वन’को प्रदर्शन रोक्न जिल्ला अदालत काठमाडौंको आदेश

द सिनेमा टाइम्स
588
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता प्रदीप खड्का, आना शर्मा, राजबल्लव कोइराला र डेव्यु अभिनेत्री दिव्या रायमाझिको मुख्य भूमिका रहेको सिनेमा ‘एक्टरः टेक वन’को प्रदर्शन रोक्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । माघ २२ गतेका लागि जिल्ला अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

नेपाल डायस्पोरा इन्टरटेनमेन्ट प्रालिको तर्फबाट उजुरीकर्ता तथा कानून व्यवसायी यज्ञमणी न्यौपानेले अदालतले अन्तरकालिन आदेश दिएको जानकारी दिए । गत माघ ४ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘एक्टर’का निर्माता मनोहरी थापाले ‘एक्टरः टेक वन’को प्रदर्शन रोक्न माग गर्दै गत शुक्रबार जिल्ला अदालत काठमाडौंमा रिट दायर गरेका थिए ।

मंगलबार न्यायाधीश ढाकाराम पौडेलको एकल इजलासले यस्तो आदेश दिएको हो। ‘एक्टर’का निर्माताले ‘एक्टर: टेक वन’को प्रदर्शन रोक्न माग गर्दै शुक्रबार अदालतमा रिट दायर गरेका थिए। दुबै सिनेमाबीच नामलाई लिएर केही समयदेखि विवाद चलिरहेको थियो । दायर गरिएको रिटमा प्रतिलिपि अधिकार उल्लङ्घनको आधारमा उचित क्षतिपूर्ति माग गरिएको छ।

राजन भुषालको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘एक्टरः टेक वन’को सोमबार नै देशभरका सिनेमा घरमा अग्रीम टिकट बुकिङ समेत खुला गरिसकेका थिए । अधिकांश शोका केही टिकट दर्शकले खरिद गरिसकेका छन् । सिनेमाको प्रदर्शन रोकिएसँगै अब हल सञ्चालकले दर्शकले टिकट काटेको पैसा फिर्ता गर्नु पर्ने अवस्था सिर्जना भएको हो ।