द सिनेमा टाइम्स, काठमाडौं । गीत रिलिजको पूर्वसन्ध्यामा ‘फेरि रेशम फिलिली’ले दुई नयाँ पोस्टर रिलिज गरेको छ। सिनेमाको पहिलो गीत ‘फेरि जालमा’ भोलि बिहीबार रिलिज गर्दैछ । सो गीतको अडियोभिडियोको सानो झलक निर्माणपक्षले रिलिज गरिसकेको छ ।
आज सार्वजनिक दुई पोस्टरमध्ये एकमा सिनेमाका तीन प्रमुख कलाकार विनय श्रेष्ठ, कामेश्वर चौरसिया, र सुपुष्पा भट्टलाई प्रस्तुत गरिएको छ । पोस्टरमा विनयलाई भूँइमा पछारिएको अवस्थामा हातमा पासपोर्ट देखाइरहेको देख्न सकिन्छ, जबकि उनीमाथि अभिनेत्री सुपुष्पाले आक्रोशपूर्ण शैलीमा बन्दुक ताकिरहेकी छिन् र कामेश्वरले दुई हात जोडेर माफी मागिरहेको देख्न सकिन्छ।
पोस्टरको नेपथ्यमा नेपालको धरहरा र अमेरिकाको ‘स्ट्याचु अफ लिबर्टी’ देखाइएको छ। पोस्टरमा विनयमाथि सुपुष्पाले तेर्स्याएको बन्दुकको रहस्यमा नै सिनेमाको कथा बुनिएको बुझ्न सकिन्छ ।
योसँगै पोस्टर हेर्दा धेरै नेपालीको स्वप्न मुलुक अमेरिकाप्रतिको आशक्ति, आकर्षणलाई पारिवारिक तथा सामाजिक चक्षुबाट सिनेमाले नियाल्न खोजेको समेत बुझ्नसकिन्छ। दोस्रो पोस्टरमा सिनेमाका सवै कलाकारलाई क्यारेक्टर लुक्समा देखाइएको छ । हास्य रसमा प्रस्तुत गरिएको सिनेमाको कथा आफ्नो पूर्व सिक्वलझैं मनोरञ्जनको पूर्ण प्याकेज हुने अनुमान गर्न सकिन्छ ।
त्यसैगरी, दोश्रो पोस्टरमा सिनेमाका अधिकांश कलाकारलाई अटाइएको छ । यो पोस्टरमा भने अभिनेता विनय आफ्नो पासपोर्ट हेरेर प्रफुल्लित मुद्रामा छन्। त्यसैगरी, सुपुष्पा र कामेश्वर पनि सोही मुद्रामा रहेका छन्।
उनीहरूको अतिरिक्त पोस्टरमा नीर शाह, शिशिर वाङ्गदेल, रविन्द्र झा, महेश त्रिपाठी, एवनराज उप्रेती र मेक्सम गौडेललाई भिन्न-भिन्न मुडमा प्रस्तुत गरिएका छन्। उनीहरूको मुडले सिनेमाको रोचकतालाई दर्शकमाझ थप कौतुहल्तापूर्ण बनाउने विश्लेषण गर्न सकिन्छ।
यो सिनेमालाई निरज महर्जनले निर्देशन गरेका हुन् । सिनेमाको कथा पनि उनले नै लेखेका हुन् । सिनेमामा विनय, सुपुष्प, कामेश्वर, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको पनि अभिनय छ । यो सिनेमामा ‘रेशम फिलिली’का निर्देशक प्रनव जोशी र अभिनेत्री मेनुका प्रधान बाहेकको अधिकांश टिम पुरानै रहेको छ ।
सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन सिनेमामा रहेको छ ।
सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको सिनेमामा रौनक विक्रम कडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह-निर्मातामा एनि थापा छन् ।सिनेमाको पोस्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले गरेका हुन् । यो सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।




प्रतिक्रिया