द सिनेमा टाइम्स, काठमाडौं । हास्य कलाकार कुमार कट्टेलको डेव्यु निर्देशनमा निर्माण भएको पहिलो सिनेमा ‘लाज शरणम्’को टिजर सार्वजनिक गरिएको छ । हास्य टेलिसिरियल ‘सक्किगोनि’ समूहको पहिलो सिनेमाको बिहीबार सोनाम ल्होसारको अवसर पारेर सार्वजनिक टिजरले सिनेमाको कथावस्तुबारेमा प्रकाश पार्छ ।
विदेशबाट डोल्पा पुगेको कफिन (शव राखेर ल्याइने बाकस)को वरिपरि घुमेको टिजरले वैदेशिक रोजगारीमा जानुपर्ने नेपाली युवाको बाध्यतालाई पनि चित्रण गर्छ । डोल्पाको एक गाउँमा घरको छतमा धुपीको राँको बालेको दृश्यबाट सुरु भएको टिजर ‘सक्किगोनि’का चर्चित पात्र अर्जुन घिमिरे (पाँडे)को प्रवेशसँगै सकिन्छ ।
सिनेमाको टिजरमा यो बीचमा कफिनका कारण उत्पन्न हुने घटनाक्रमलाई रोचक ढंगले देखाइएको छ । टिजरमा सिताराम कट्टेल (धुर्मुस)को गेटअप र बोल्ने शैलीले दर्शकको ध्यान खिच्छ । उनी नेताको भूमिकामा छन् । सिनेमामा सितारामसँगै विजय बराल, अर्जुन घिमिरे, मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा, माला लिम्बू, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, कमलमणि नेपाललगायतको अभिनय छ ।
निर्देशक कट्टेल स्वयंको कथा रहेको सिनेमाको पटकथा लेखनमा उनलाई दीपक आचार्यले सघाएका छन् । महाशिवरात्रिको दिन पारेर फागुन १४ गतेबाट प्रदर्शनमा आउने सिनेमामा नवीन श्रेष्ठ निर्माता तथा राम नरेश साह र सृजना खड्का सह-निर्माताको रूपमा रहेका छन् । सुदीप बरालको छायांकन, शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको सिनेमालाई मिलन श्रेष्ठले सम्पादन गरेका हुन् ।


प्रतिक्रिया