द सिनेमा टाइम्स, काठमाडौं । फागुन २३ गते रिलिज हुने सिनेमा ‘होस्टेल ३’को दोस्रो गीत ‘मनमा अनौठो’ सार्वजनिक भएको छ । शुक्रवार बिहान सार्वजनिक गीतमा सिनेमाका मुख्ख दुई कलाकार पारस बम (कुलब्वाई) र सिम्रन पन्त फिचर्ड छन् ।
सार्वजनिक गीतमा शब्द तथा संगीत अर्जुन पोखरेलको रहेको छ भने रेश्मा पुन र उकेश रावलको स्वर रहेको छ । यसको भिडियोको कोरियोग्राफी प्रवीण सिंहले गरेका छन् । गीतले किशोर किशोरीको प्रेमलाई झल्काउँछ । यो गीत सार्वजनिक भएसँगै टिकटक तथा रिल्समा ट्रेन्डिङ हुन थालेको छ भने युट्युबमा उत्साहजनक प्रतिक्रियाहरू आइरहेका छन् ।
‘होस्टेल ३’ नेपालको चर्चित शृङ्खला ‘होस्टेल’को तेस्रो संस्करण हो । सिनेमाको निर्देशन सशान कँडेलले गरेका हुन् भने स्क्रिप्ट माधव शर्माले लेखेका छन् । कथा निर्देशक कँडेलकै हो । यसमा क्याम्पस जीवनका संघर्ष, मित्रता र रमाइलो क्षणहरूको कथा रहेको छ ।
पारस र सिम्रनसहित सिनेमामा रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी र समा पराजुली, उमर खान, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष पुरुषलगायतका कलाकारको अभिनय रहेको छ । सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी निर्माता तथा शंकरर कोइराला कार्यकारी निर्माता रहेको सिनेमामा शिशिर ज्ञवाली, कुन्दन गुप्ता र अनीश सिग्देल सह-निर्माता अनि कोसिसराज क्षेत्री लाइन प्रोडुयुसरको रुपमा रहेका छन् ।
सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्मस्सँगको सहकार्यमा निर्माण भएको सिनेमामा अर्जुन तिवारी डिओपी, बुद्ध थापा र मनोज खत्री सिनेमाटोग्राफर, अर्जुन पोखरेल, अलमोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकलको संगीत, विकास दाहालको सम्पादन, प्रवीण सिंह र रोशन विश्वकर्माको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व निर्देशन, राकेश दाहालको पोस्टर डिजाइन रहेको छ ।
यो सिनेमा फागुन २३ गते नै नेपाल बाहिरका विभिन्न देशहरूमा पनि प्रदर्शनमा आउने छ । सिनेमाको नेपाल वितरक काफिया फिल्मस् र आरआर फिल्मस् हुन् ।


प्रतिक्रिया