द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको सिनेमा ‘रंगी’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक ट्रेलरमा बाबु र छोरीको प्रेम, कमेडी र पीडालाई देखाइएको छ ।
सलोनको विवाह अनि छोरीको जन्मबाट सुरुवात ट्रेलरमा छोरी आयुषी ढकालका लागि बाबु सलोन बस्नेतको प्रेम, संघर्ष देखाइएको छ । डेब्यू अभिनेत्री नम्रता श्रेष्ठ र आयुषीको मित्रता तथा सलोन, नम्रता र आयुषीको नोकझोकलाई पनि देखाइएको छ । ट्रेलरका केही दृश्य मर्मस्पर्शी लाग्छन् ।
विशेषगरी ट्रेलरको अन्त्यमा आयुषीले स्टेजबाट आफ्नो बाबुप्रति दर्शाएको प्रेम र संवादले सबैको मन छुन्छ । फागुन २ गते रिलिज हुने सिनेमाको पोस्टर, टिजर र गीतले दर्शकको मन जितिरहँदा सार्वजनिक ट्रेलरले सिनेमाप्रति उत्साह बढाउने देखिन्छ । सिनेमाकी निर्मात्री करिश्मा केसी बस्नेतले फिल्ममा बाबुछोरीमार्फत मायाको परिभाषालाई फरक ढंगले प्रस्तुत गरेको बताइन् ।
सिनेमाका प्रस्तुतकर्ता सलोनले ‘रंगी’लाई संघर्ष र मायाको कथाको रुपमा बुझ्न आग्रह गरे । निर्देशक सुरेश न्यौपानेले ‘रंगी’ सिनेमामात्र नभई एउटा भावनासमेत रहेको दाबी गरे । अभिनेत्री नम्रताले सिनेमामा आफूले धेरै दबाब झेलेर काम गर्नु नपरेको बताइन् । बाल कलाकार आयुषीले ट्रेलरलाई दर्शकले मनपराउनेमा आफू ढुक्क रहेको बताइन् ।
सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएका सिनेमालाई सुरेश न्यौपानेले निर्देशन गरेका हुन् । यो उनको डेव्यु निर्देशकिय सिनेमा हो । सिनेमामा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारीको अभिनय छ । प्रस्तुतकर्ता सलोनका अनुसार सिनेमाले बाबुछोरीको कथा देखाउनेछ । ‘रंगी’ सलोनको डेब्यू निर्माण सिनेमा हो ।
सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमको निर्माण रहेको सिनेमामा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ । सिनेमालाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछ ।


प्रतिक्रिया