युट्युब ट्रेन्डिङमा ‘फेरि रेशम फिलिली’को दोस्रो गीत ‘फेरि जालमा’

युट्युब ट्रेन्डिङमा ‘फेरि रेशम फिलिली’को दोस्रो गीत ‘फेरि जालमा’

द सिनेमा टाइम्स
98
Shares

द सिनेमा टाइम्स, काठमाडौं । महाशिवरात्रीको अवसर पारेर फागुन १४ गतेबाट प्रदर्शनमा आउने ‘फेरि रेशम फिलिली’को दोस्रो गीत ‘फेरि जालमा’ हिजो बिहीबार आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरियो । गीत सार्वजनिक भएको २४ घण्टा नपुग्दै युट्युब ट्रेन्डिङमा उक्लिएको छ ।

यो गीतको अहिले समाचार तयार पार्दै गर्दा युट्युब ट्रेन्डिङको १३ औं स्थानमा पुगेको छ । सार्वजनिक गीतले दर्शकको मन जितिरहेको हुँदा ट्रेन्डिङको शिर्ष स्थान तर्फ गीतको पाइला बढिरहेको छ । अहिले गीतको भ्युज ६ लाख ८० हजार बढि रहेको छ । यस्तै, गीतमा १२ हजार बढि लाइक र छ सय ५० बढिले प्रतिक्रिया दिएका छन् ।

यो गीत करिब १० वर्ष अघिको भारइल गीत ‘जालमा’लाई रि-क्रियट गरिएको हो । नेपालमा पहिलो पटक भाइरल शब्दको प्रयोग नै यही गीतमा भएको मान्ने गरिन्छ । यो गीतलाई अहिलेको पुस्तामा प्रचलित जेन-जी दर्शकलाई टार्गेट गरिएको सिनेमाका मुख्य अभिनेता विनय श्रेष्ठ बताउँछन् । यो गीतमा पुरानै टिम अर्थात् कालीप्रसाद बाँस्कोटाको संगीत र शब्द रचना मानस राजले लेखेका हुन् । गायनमा काली र सोमिया बराईली रहेका छन् । यो गीतको भिडियामा प्रदिप लामाको कोरियोग्राफी र शिवराम श्रेष्ठले छायांकन गरेका हुन् ।

यो सिनेमालाई निरज महर्जनले निर्देशन गरेका हुन् । सिनेमाको कथा पनि उनले नै लेखेका हुन् । सिनेमामा विनय, सुपुष्प, कामेश्वर, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको पनि अभिनय छ । यो सिनेमामा ‘रेशम फिलिली’का निर्देशक प्रनव जोशी र अभिनेत्री मेनुका प्रधान बाहेकको अधिकांश टिम पुरानै रहेको छ ।

सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन सिनेमामा रहेको छ ।

सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको सिनेमामा रौनक विक्रम कडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह-निर्मातामा एनि थापा छन् । सिनेमाको पोस्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले गरेका हुन् । यो सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।