द सिनेमा टाइम्स, काठमाडौं । दीपेन्द्र के खनालको निर्देशनमा निर्माण हुने सिनेमा ‘हरिबहादुरको जुत्ता’को शुभमुहूर्त गरिएको छ । सोमबार बसन्त पञ्चमीका अवसरमा भक्तपुरको सूर्यविनायक मन्दिरमा शुभमुहूर्त पूजा गर्दै काभ्रेको पनौतीस्थित शंखुबाट छायांकन थालिएको हो । यो अभिनेता हरिवंश आचार्यले जन्मथलो पनि हो ।
निर्माण टिमले सुर्यविनायक मन्दिरमा सिनेमाका कलाकार र निर्माताले स्कृप्ट र क्यामेरा पूजा गरेर छायांकनमा निस्केको जानकारी दिइएको हो । यो सिनेमाको छायांकन ४५ दिनसम्म काभ्रे र काठमाडौंका विभिन्न लोकेसनमा हुने निर्माता सरोज ओलीले बताए । पहिलो दिन हरिवंश र उनकी पत्नीको भूमिका निर्वाह गरेकी कलाकार रोशनी सापकोटाको दृश्यबाट छायांकन सुरु गरिएको हो ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण हुने सिनेमामा हरिवंशसँगै प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रियंका कार्की, किरण केसी, मुरलीधरको शीर्ष भूमिका हुनेछ । सिनेमामा सरोज ओली र मोहितवंश आचार्य निर्माताको रुपमा रहने छन् । छायांकन सकिएपछि सिनेमाको प्रदर्शन मिति घोषणा गरिने निर्माता ओलीले जानकारी दिए ।
यसअघि थुप्रै म्युजिक भिडियोमा सहकार्य गरेका हरिवंश र सरोजले पहिलोपटक सिनेमामा सहकार्य गर्न लागेका हुन् । निर्देशक खनालसँग पनि हरिवंशको पहिलो सहकार्य हो । सामाजिक र हास्यकथावस्तुमा निर्माण हुन लागेको सिनेमा हरिबहादुरको पात्रबाट प्रभावित हुनेछ ।



प्रतिक्रिया