दयाहाङ र आँचलको एडल्ट ड्रामा ‘दुखी आत्मा’ ट्रेलर सार्वजनिक

दयाहाङ र आँचलको एडल्ट ड्रामा ‘दुखी आत्मा’ ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
126
Shares

द सिनेमा टाइम्स, काठमाडौं । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको सिनेमा ‘दुखी आत्मा’को ट्रेलर सार्वजनिक गरिएको छ । वसन्त पञ्चमीको दिन पारेर सोमबार सार्वजनिक चार मिनेट लामो ट्रेलरमा एक पात्रको वरिपरि घुमेको छ, जो यौन दुर्बलता (इरेक्टाइल डिस्फङ्कसन)बाट पीडित छ । उसमा यौन चाहना भएपनि यौन दुर्बलताका कारण भोग्नुपरेको समस्यालाई ट्रेलरमा हास्य शैलीमा प्रस्तुत गरिएको छ ।

यौन दुर्बलताको समस्याबाट पीडित पात्रको भूमिकामा दयाहाङ राईले अभिनय गरेका छन् । उनको कविता लेखनमा रुचि देखिन्छ । उनको जोडी बनेर आँचल शर्मा प्रस्तुत छिन् । यौन दुर्बलताकै कारण उनीहरुबीच उत्पन्न परिस्थितिलाई ट्रेलरले रोचक शैलीमा पेस गरेको छ, जसले दर्शकमा रोमाञ्चकता पैदा गराउन सक्छ । ट्रेलरमा दुईअर्थी संवाद हाबी छन् ।

आगामी फागुन २ गतेबाट प्रदर्शन हुन लागेको सिनेमामा दयाहाङ र आँचलसहित अनुपविक्रम शाही, बुद्दि तामाङ, रेअर राई, पुष्कर गुरुङ, कविता आले, लोकेन्द्र लेखक, दीया मास्के, आशान्त शर्मा, लुनिभा तुलाधर, शिशिर वाङ्देल लगायतको अभिनय छ । सिनेमालाई ‘नाङ्गो गाउँ’का निर्माता हिमाल कडरियाले निर्माण गरेका हुन् ।

क्लक वर्क कृएसनको ब्यानरमा निर्माण भएको सिनेमाको कार्यकारी निर्माता सुदीप ढकाल हुन् । एडल्ट ड्रामा जनरामा बनेको सिनेमामा चर्चित कवि तथा गीतकार श्रवण मुकारुङले विभिन्न शीर्षकमा लेखेका दशवटा कविता समावेश गरिएको छ, जुन ट्रेलरमा पनि सुन्न सकिन्छ । सिनेमामा आलोक शुक्लाको छायांकन, निमेष श्रेष्ठको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ ।