‘जुनाः एक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक

‘जुनाः एक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक

द सिनेमा टाइम्स
42
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी शुक्रबार अर्थात् माघ २५ गतेबाट रिलिज हुने सिनेमा ‘जुनाः एक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा पूर्णकला बिसीको स्वर, भीमबहादुर पौडेलको शब्द र बीबी अनुरागीको संगीत छ ।

सार्वजनिक गीतको भिडियोमा बिनु कार्की, अस्मिता बस्नेत र नेहा गौतमले नृत्य गरेका छन् । विशेषत विवाहमा महिलाहरुले नाँच्ने रत्यौलीलाई प्रस्तुत गरिएको गीतमा एक केटीलाई केटाको गेटअपमा प्रस्तुत गरिएको छ । हाँसो ठट्टा शैलीमा प्रस्तुत गरिएको गीत विवाह घरको आँगनमा खिचिएको छ ।

गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा निर्माण भएको सिनेमाले बाल विवाह, अनमेल विवाह, महिला हिंसालगायतका विषयलाई उठान गरेको छ । दीपकप्रसाद घिमिरेले निर्माण गरेको सिनेमामा जीवन सेञ्चुरीको निर्देशन छ । पर्वतको सालिजा ओख्रेनीमा छायांकन गरिएको सिनेमामा राजबहादुर सानेको कथा लेखन रहेको छ ।

सिनेमामा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, अनिता बस्नेत, कमल बोहोरा र खगेन्द्र न्यौपानेको अभिनय छ । बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत, जीवन सेञ्चुरी र भीमबहादुर पौडेलको शब्द, अञ्जु पन्त, पूर्णकला बिसी र यदु राई लकान्द्रीको स्वर र रामेश्वर हुमागाईंको डिओपी रहेको सिनेमाको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले गर्नेछन् ।