द सिनेमा टाइम्स, काठमाडौं । दीपक रौनियारको निर्देशनमा निर्माण भएको सिनेमा ‘राजागंज’को टिजर भोली बुधबार रिलिज हुँदैछ । सिनेमा रिलिजको पूर्वसन्ध्यामा सिनेमाको निर्माण टिमले विभिन्न अभिनेत्रीहरुको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ ।
सार्वजनिक क्यारेक्टर पोस्टरबाट सिनेमा महिला केन्द्रीत रहेको अनुमान गर्न सकिन्छ । सिनेमाको निर्माण टिमले सोमबार बसन्त पञ्चमीको अवसरमा अभिनेत्री ऋचा शर्मा, गौमाया गुरुङ, पशुपती राई, पूर्वमिस नेपाल निकिता चाण्डक, पुष्पा यादव, आरती मण्डल लुक्स सार्वजनिक गरिएको थियो । यसबाट पनि सिनेमाको केन्द्रमा महिला रहेको बुझ्न सकिन्छ ।
सिनेमाको शीर्ष भूमिका इन्सपेक्टर पूजाको रोलमा आशा चित्रित छिन् । निकिताले इन्सपेक्टर ममताको भूमिका निर्वाह गरेकी छन् । ऋचाले हेडमास्टर सविता कोइराला, पशुपति राईले मेनुका, गौमाया गुरुङले रमा, पुष्पा यादवले पत्रकार र आरती मण्डलले सरस्वतीको भूमिका निर्वाह गरेकी छन् ।
सिनेमाले भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बई जस्ता विश्वका ठुला सिनेमा महोत्सवमा आफ्नो प्रभाव जमाई सकेको छ । यो सिनेमा गत कात्तिक एकै महिनामा ५ फेस्टिभलमा स्क्रिनिङ भएको थियो । सिनेमाले भेनिसमा १० मिनेटको स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको थियो ।
प्रतिष्ठित अमेरिकी अखबार ‘द न्युयोर्क टाइम्स’ले निर्देशक रौनियारलाई संसारका नौ उदीयमान निर्देशकको सूचीमा समावेश गरेको थियो । ब्राजिलियन लेखक पाओलो कोहेलोले सार्वजनिक रुपमै रौनियारको प्रशंसा गरेका थिए ।
आगामी चैत्र १ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ । यो सिनेमालाई नेपालमा टिफल्क र ब्यांकटेश इन्टरटेनमेन्टले संयुक्त रुपमा रिलिज गर्ने भएका हुन् । सत्य घटनाबाट प्रेरित रहेको ‘राजागञ्ज’ले नेपाल र भारतको सीमावर्ती शहरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसनको कथा उठाएको छ ।
सिनेमाको निर्माणमा आदि फिल्मस्का तर्फबाट निर्देशक रौनियार र अभिनेत्री मगराती, बासुरी फिल्मस्का तर्फबाट रामबाबु गुरुङ र मनिराम पोखरेल, अभिनेता दयाहाङ राई तथा तन्हाउसर गेटका तर्फबाट एलन आर मिलिगनले सहकार्य गरेका छन् ।


प्रतिक्रिया