तुलसी घिमिरेको ‘पहाड’ शुभमुहुर्त गर्दै छायांकन सुरू

तुलसी घिमिरेको ‘पहाड’ शुभमुहुर्त गर्दै छायांकन सुरू

द सिनेमा टाइम्स
441
Shares

द सिनेमा टाइम्स, काठमाडौं । बरिष्ठ निर्देशक तुलसी घिमिरेको निर्देशनमा निर्माण हुने सिनेमा ‘पहाड’को शुभमुहुर्त गर्दै आजदेखि छायांकन सुरू गरिएको छ । आज विहान गोर्खा दरबारमा पुजा गरेपछि मुहुर्त सट अभिनेता मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री र डेब्यु अभिनेत्री पञ्चमी घिमिरेले दिएका थिए ।

युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्याको कथावस्तु रहेको सिनेमाको लेखन निर्देशक घिमिरेले नै गरेका हुन् । निर्देशक घिमिरेले अहिलेको समाजको तीतो यथार्थलाई सिनेमामार्फत दर्शकसमक्ष पुर्याउन लगिएको बताए ।

उनले भने, ‘मानव बसोबासविहीन बनेको उच्च पहाडको कथा समेटिएको छ, सिनेमाले हाम्रो दायित्व र देशको आवश्यकतालाई चित्रण गर्छ । सिनेमाको विषय अनुसार हामीले कलाकार चयन गरेका छौं । नयाँदेखि पुराना पुस्तासम्मलाई समेटेर काम गर्न पाउँदा उत्साहित छु ।’

निर्देशक घिमिरेले आफूले राम्रो टिम पाएको र सेटमा फर्किदा छुटै उत्साह महसुस गरेको बताए । ओजस्वी केसी निर्माता रहेको सिनेमालाई प्रमोद प्रधानले छायांकन गरिरहेका छन् । भारतमा सिनेमा, वेब सिरिज र टेलीसिनेमासमेत छायांकन गरिसकेका छायांकार प्रधानले निर्देशक घिमिरेसँग अन्याय, कोसेली, चिनो र दक्षिणामा सहकार्य गरेका थिए ।

छायांकार प्रधान तीस वर्षपछि नेपाली सिनेमा छायांकनका लागि नेपालमा आएका हुन् । सिनेमाको छायांकन गोर्खा आसपासमा २५ दिन र भारतमा १५ दिन हुनेछ । भाग्यरत्न फिल्मस् प्रालिको व्यानरमा निर्माण भइरहेको सिनेमामा विपीन कार्की, प्रिंयकाकार्की, सुनिल थापालगायतका कलाकारले पनि अभिनय गर्दैछन् ।

सिनेमामा रञ्जित गजमेर संगीत निर्देशक, भारती घिमिरे क्रिएटिभ निर्देशक रहेका छन् । रिम्पोछे लामा थिङ्ग र सुरेश लामा थिङ्ग सह–निर्माता रहेको सिनेमा नेपालमा वैङ्कटेश इन्टरटेनमेन्ट र डायस्पोरामा सेभेन सिज इन्टरनेशनल फिल्मस्ले वितरण गर्नेछन् ।

पछिल्लो सिनेमा ‘दर्पणछाया २’ पछि निर्देशनबाट केही समय विश्राम लिएका निर्देशक घिमिरेले ‘पहाड’ निर्देशनमा कमव्याक गरेका हुन् । यो सिनेमाको पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेको हो ।