द सिनेमा टाइम्स, काठमाडौं । गत माघ १७ गते आयोजिक एक कार्यक्रमका बीच रिलिज गरिएको ‘फेरि जालमा’ गीत यतिवेला चर्चाको शिखरमा छ । महाशिवरात्रिको अवसर पारेर फागुन १४ गते रिलिज हुने सिनेमा ‘फेरि रेशम फिलिली’मा समावेश यो सार्वजनिक भएसँगै दर्शकमाझ चर्चाको विषय बनेको हो ।
यो गीत दर्शकमाझ चर्चामा रहनुको कारण २०७२ सालमा रिलिज भएको सिनेमा ‘रेशम फिलिली’को भाइरल गीत ‘जालमा’ हो । त्यो वेला अडियो भर्सनमा मात्रै सार्वजनिक भएपनि यो गीत दर्शक र श्रोतामाझ छोटो समयमा लोकप्रिय अर्थात् भाइरल भएको थियो । करिब १० वर्षपछि सोही गीतलाई रि-क्रियट गरिएकाले पनि यतिवेला यो गीत चर्चाको शिखरमा पुगेको हो ।
युट्युबमा रिलिज भएसँगै दर्शक तथा श्रोताको नजरमा परेको यो गीत अहिले युट्युबको ट्रन्डिङ अन्तरगत म्युजिक सेक्सनको शिर्ष स्थानमा उक्लेको छ । यो गीतले रिलिज भएको एक हप्तामा १८ लाख १५ हजार बढि भ्युज अनि ३५ हजार लाइक तथा १ हजार ४ सय बढि प्रतिक्रिया बटुलेको छ । यो गीतमा फिचर्ड मुख्य कलाकार विनय श्रेष्ठ र सुपुष्पा भट्टको नृत्यको विशेष चर्चा दर्शकले गरिरहेका छन् । उनीहरुको जोडी उत्कृष्ट देखिएको प्रतिक्रिया गीतको कमेन्टबक्समा देख्न सकिन्छ ।
यो गीतको अडियोमा ‘जालमा’कै टिम दोहोरिएकाले पनि दर्शकले ‘फेरि जालमा’ रुचाएको प्रतिक्रिया दिएका छन् । विशेषगरी संगीतकार काली प्रसाद बास्कोटाको संगीत गायन अनि सोमिया बराइलीको स्वर तथा मानसराजको शब्द रचना र प्रदीप लामाको कोरियोग्राफीको ट्युनिङ मिलेकाले पनि गीत अडियो तथा भिडियोको संयोजन उत्कृष्ट देखिएको धेरैको प्रतिक्रिया छ ।
यो गीत रिलिज भएसँगै दर्शकमाझ सिनेमाको हाइप निकै बढेको छ । खासगरी जेन-जी पुस्ताका दर्शकमाझ सिनेमाप्रति उत्साह र कौतुहलता देखिएको गीतलाई मिलेको प्रतिक्रियाबाट बुझ्न सकिन्छ । सिनेमालाई निरोज महर्जनले निर्देशन गरेका हुन् । सिनेमाको कथा पनि उनले नै लेखेका हुन् ।
सिनेमामा विनय, सुपुष्प, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको पनि अभिनय छ ।
सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन सिनेमामा रहेको छ ।
सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको सिनेमामा रौनक विक्रम कडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह-निर्मातामा एनि थापा छन् ।
सिनेमाको पोस्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले गरेका हुन् । यो सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् । यो सिनेमा फागुन १४ मा रिलिज हुँदै छ ।


प्रतिक्रिया