शुक्रबारबाट तीन सिनेमा ‘ममी’, ‘जुनाः एक व्यथा’ र ‘सारंग’ प्रदर्शनमा

शुक्रबारबाट तीन सिनेमा ‘ममी’, ‘जुनाः एक व्यथा’ र ‘सारंग’ प्रदर्शनमा

द सिनेमा टाइम्स
112
Shares

द सिनेमा टाइम्स, काठमाडौं । माघ २५ गते शुक्रबारबाट तीन नेपाली सिनेमा ‘ममी’, ‘जुनाः एक व्यथा’ र ‘सारंग’ प्रदर्शनमा आएका छन् । फरक जनरामा निर्माण भएका यी तीन सिनेमाले मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्म राम्रो शो पाएका छन् । यी तीन सिनेमाले गहन विषयको उठान गरेकाले दर्शकको साथ पाउने विश्वास निर्माण टिमलाई छ ।

समर निरौला निर्देशित फ्यामिली हरर साइकोलोजिकल–थ्रिलर सिनेमा ‘ममी’ हो । जीवन सेञ्चुरी निर्देशित ‘जुनाः एक व्यथा’ले नारीको पीडा र वेदना छ । यता प्रशान्त तामाङ निर्देशित ‘सारंग’ले मित्रता र सम्बन्धको कथा उठाएको छ । यसैले यो हप्ता दर्शकलाई आफ्नो रुचिअनुसार छानीछानी सिनेमा हेर्न पाउने छन् ।

सेन्सर बोर्डबाट एडल्ट सर्टिफिकेट पाएको ‘ममी’मा प्रियंका कार्की, सुलक्षण भारती, दीया मास्के, समीप निरौला, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्ट, घनश्याम जोशीलगायतको अभिनय रहेको छ । बुधबार भएको प्रिमियरमा सिनेमाले उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको थियो । प्रायःले अहिलेसम्म बनेकामध्ये उत्कृष्ट हरर थ्रिलर सिनेमा भएको प्रतिक्रिया दिएका थिए ।

सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको सिनेमामा समर निरौला र पूर्णिमा जोशीको लेखन रहेको छ । सिनेमाको निर्माता लोक राज जोशी तथा पूर्णिमा जोशी हुन भने कार्यकारी निर्मातामा सुमन कोइराला रहेका छन् ।

आजैबाट प्रदर्शनमा आएको ‘सारंग’मा ऋचा शर्मा, आदित्य कार्की, सम्राट थापा, उत्पल झा, सुरज तमु, समीरमणि दीक्षित, मणि के राई लगायतको अभिनय छ । यो सिनेमाले विभिन्न ठाउँमा गरिएको च्यारिटी शो र मंगलबार आयोजित प्रिमियर शोमा उत्कृष्ट प्रतिक्रिया पाएको थियो । जसले दर्शकको राम्रो साथ पाउने विश्वास निर्माण टिमको छ ।

गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा निर्माण भएको आजैबाट प्रदर्शनमा आएको बाल विवाह र महिला हिंसाको कथामा बनेको सिनेमा ‘जुनाः एक व्यथा’मा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, खगेन्द्र न्यौपाने, कमल बोहोरालगायतको अभिनय छ । दीपकप्रसाद घिमिरेले निर्माण गरेका हुन् ।