द सिनेमा टाइम्स, काठमाडौं । नेपाल सरकार अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको चलचित्र विकास बोर्डले बनेपा नगरपालिकाको वडा नम्बर १० र १३ मा निर्माण हुन लागेको इनडोर सुटिङ स्टुडियोका लागि बोलपत्र (टेन्डर) आह्वान गरेको छ ।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको सूचना अनुसार, निर्माणका लागि इच्छुक कम्पनीहरूलाई आगामी ३० दिनभित्र ई-बिडिङमार्फत आवेदन दिन आग्रह गरिएको छ ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीका अनुसार, यो स्टुडियो सम्भवतः नेपालकै सबैभन्दा ठूलोआकारको इनडोर सुटिङ स्टुडियो हुनेछ । निजी क्षेत्रसंग केही स्टुडियो भए पनि यसअघि सिनेमा क्षेत्रसंग आफ्नो स्टुडियो भने थिएन ।
यो परियोजनाले स्वदेशी सिनेमा उद्योगलाई अत्याधुनिक प्रविधिसहित सहज ढंगको सुटिङ स्थल प्रदान गर्नेछ । बनेपाको ४२ रोपनी क्षेत्रफलमा निर्माण हुने उक्त स्टुडियो विगत केही वर्षदेखि योजनामा रहे पनि कार्यान्वयन चरणमा जान सकेको थिएन । यो पटक बोर्ड अध्यक्ष दिनेश डिसीको सकृयतामा बोर्डबाट योजना अगाडि बढाउन ठोस पहल गरिएको हो ।
यो स्टुडियोको शिलान्यास २ महिनाभित्र नै गर्ने बोर्डको योजना रहेको छ । स्टुडियो निर्माणपछि स्वदेशी सिनेमाका निर्माता तथा निर्देशकलाई आधुनिक सुटिङ प्रविधि र सुविधासहितको वातावरण उपलब्ध हुनेछ ।
यस स्टुडियो निर्माणपछि नेपाली सिनेमा उद्योगलाई गुणस्तरीय सुटिङ वातावरण प्रदान गर्ने विश्वास गरिएको छ ।


प्रतिक्रिया