हलिउड वितरण कम्पनी बफेलो एटले ‘भूठान’लाई अमेरिका र क्यानडामा रिलिज गर्ने

हलिउड वितरण कम्पनी बफेलो एटले ‘भूठान’लाई अमेरिका र क्यानडामा रिलिज गर्ने

द सिनेमा टाइम्स
133
Shares

द सिनेमा टाइम्स, काठमाडौं । बरिष्ठ हास्य कलाकार हरिवंश आचार्यको मुख्य भूमिका रहेको सिनेमा ‘भूठान’लाई अमेरिका र क्यानडामा हलिउड वितरण कम्पनी बफेलो एटले रिलिज गर्ने भएको छ ।

अमेरिकामै रहेका सिनेमाका निर्माता मध्यका एक राजेन्द्र ठकुराठीका अनुसार बफेलो एटका निर्देशक ज्याकब सिल्भेरासँग रिलिज सम्झौता गरिएको हो । यो कम्पनीले यसअघि अस्कर छनोट सिनेमा ‘विमेन अफ द आवर’ लगायत ‘टेरिफाएर थ्री’, निकोलस केज अभिनित सिनेमा ‘आर्केडियन’, रोबर्ट डि निरो अभिनित ‘वास मि इन द रिभर’ वितरण गरिसकेको छ ।

अंग्रेजीमा ‘द वल्ड्र्स ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो सिनेमाको मुख्य भूमिकामा हरिवंशसहित दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द, ऋचा घिमिरे, जोएस पाण्डे, अदिती प्याकुरेल, टम क्रेन, विमल सुवेदीले अभिनय गरेका छन् । हलिउडका विश्वविख्यात अभिनेता ब्रुस डर्नले पनि विशेष भूमिकामा अभिनय गरेका छन् । हलिउडको साग अफट्रा अन्तर्गत रहेर बनेको पहिलो नेपाली सिनेमा हो जसमा हलिउडका केही प्राविधिकले पनि काम गरेका छन् ।

सर्वोत्कृष्ट निर्देशकको राष्ट्रिय सिनेमा पुरस्कार विजेता विनोद पौडेलको यो दोस्रो निर्देशकिय फिचर सिनेमा हो । उनले यसअघि मुकुन भुषाल र स्वस्तिमा खड्काको मुख्य भूमिकामा लिएर ‘बुलबुल’ निर्देशन गरेका थिए । सिनेमा प्रचारको लागि निर्देशक पौडेल र अर्का निर्माता तथा कलाकार सुशांक मैनाली केही दिनअघि नेपाल आइसकेका छन् ।

यो सिनेमामार्फत हरिवंशको नयाँ जन्म हुने र नेपाली दर्शकले नेपाली निर्देशकले हलिउडमा गएर बनाएको विश्वस्तरको सिनेमाको स्वाद चाख्न पाउनेमा विश्वस्त रहेको निर्माता अविरल थापा बताउँछन् । भुटानदेखि भारत, नेपाल हुँदै अहिले अमेरिकामा पुगेका भुटानीले थातथलो छोड्नुपर्दाको पीडा, आफ्नो घर हराएको कथा र अस्तित्वको खोज समेटेर बनेको सिनेमाको अधिकांश छायांकन अमेरिका भएको छ ।

राजेन्द्र ठकुराठी, अमिताभ जोशी र अविरल थापा, सुशांक मैनाली र किर्तना बाँसकोटा निर्माण रहेको सिनेमाको कार्यकारी निर्मातामा विकाश भिटो अधिकारी, कौशिला खनाल कर्माचार्य, रमेश भट्ट, अपार श्रेष्ठ, भुवन प्याकुरेल तथा सह–निर्मातामा जोयस पाण्डे, प्रदीप शर्मा (बडाईं) र नवराज पराजुली छन् ।

सुसन प्रजापतिको छायांकन, अन्जय खड्काको सम्पादन, डिकेश खडगी शाहीको ध्वनि, श्यामबरण केमको संगीत, सूर्य शाहीको कास्टिङ, उज्जवल श्रेष्ठको पब्लिसिटी डिजाइन, विमल सुवेदीको प्रोडक्सन डिजाइन, बलिउडका प्रख्यात कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन छ ।

सिनेमालाई ठकुराठी ब्रोज, भ्याकेन्ट लाईट, एभरेष्ट ईन्टरटेनमेन्ट अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन् र अमेरिकाको म्याड मंकी फिल्मस्ले निर्माण गरेको हो । नेपालमा सिनेमाको वितरण आरआर फिल्मस् प्रोडक्सनले गर्नेछ ।