द सिनेमा टाइम्स, काठमाडौं । आगामी चैत्र २९ गते नेपाली नयाँ वर्षको अवसरमा रिलिज हुने सिनेमा ‘नरसिंहाः अवतार’मा एक समयको कालजयी गीत ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ फेरि दर्शकमाझ आउने भएको छ । करिब २५ वर्ष अघि निर्माण भएको सिनेमा ‘दैव संजोग’मा समावेश यो गीत सिनेमा ‘नरसिंहाः अवतार’मा समावेश गरिएको हो ।
पुरानो गीतमा संगीतकार तथा गायक शम्भुजित बाँस्कोटा र गायिका देविका बन्दनाको स्वर थियो । नयाँ भर्सनमा भने शम्भुजित र गायिका रचना रिमालले स्वर भरेका छन् । यो गीतको भिडियोलाई ४ दिन लगाएर खिचिएको छ । जरसिंह पौवामा सेट नै लगाएर हिमाललाई काखमा राख्दै यो गीतको भिडियो खिचिएको हो ।
यो गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ । सिनेमाका निर्देशक दिवाकर भट्टराइले १५ लाख रुपैयाँ खर्च गरेर गीतको भिडियो तयार पारिएको बताए । यो गीतमा सिनेमाका मुख्य कलाकारहरु महानायक राजेश हमाल, सरोज खनाल, राज कटुवाल, नीति शाह, उषा खड्गी, सनिषा भट्टराइले नृत्य गरेका छन् ।
चिसो हावामा र धुलो उडेका कारण पनि छायांकनमा केही कठिनाई भएको कलाकारहरुले बताए । तर, दर्शकले यो गीतको भिडियोलाई रुचाउनेमा उनीहरु विश्वस्त देखिए । महानायक राजेश हमालले यो गीतले आफूलाई फेरि विगतमा फर्काएको भन्दै दर्शकले मन पराउने विश्वास व्यक्त गरेका छन् । गीतको भिडियोमा महानायक राजेश हमाल र अर्का अभिनेता राज कटुवाललाई कर्नेलको अवतारमा देख्न पाइनेछ ।
यो सिनेमामा महानायक राजेश हमाल र अभिनेता सरोज खनालले ३२ बर्षपछि सहकार्य गर्दैछन् । यसैले, दुवैजना गीत छायांकनका क्रममा मिडियासँग उत्साहित देखिए । गीतको भिडियोमा सय जना कोरस र त्यती नै संख्यामा दर्शक राखिएको छ । एक्सन र लभ स्टोरी कथामा निर्माण भएको यो सिनेमामा दर्शकले विविधता देख्न पाउने विश्वास निर्माणपक्षको छ ।
यही सिनेमाबाट महानायक राजेश हमाल ८ बर्षपछि ठुलो पर्दामा फर्किदैछन् । दर्शकका लागि हमालको पखाई पनि केही विशेष हुने देखिएको छ । अभिनेता राज कटुवालले सुरु सुरुमा महानायक राजेश हमालसँग नाँच्दा केही डर लागेपनि पछि सहज भएको बताए । यो पूर्व मिस नेपाल उषा खड्गीको डेब्यू सिनेमा हो । यसैले, डेब्यू सिनेमालाई लिएर उनमा छुट्टै प्रकारको उमंग देखिएको छ ।



प्रतिक्रिया