‘लाज शरणम्’को दोस्रो प्रमोसनल गीत रिलिज

‘लाज शरणम्’को दोस्रो प्रमोसनल गीत रिलिज

द सिनेमा टाइम्स
119
Shares

द सिनेमा टाइम्स, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले स्वर दिएको सिनेमा ‘लाज शरणम्’को गीत रिलिज भएको छ । ‘नेपाल हासेको’को बोलको गीतमा र्यापर बालेनको स्वर, संगीत र शब्द रचना छ । उनले यो गीतको अडियो करिब १० वर्ष अगाडी नै तयार लिरिकल गीतको रुपमा युट्यबमा सार्वजनिक भैसकेको थियो । त्यो बेला नै गीतलाई दर्शक तथा श्रोताले रुचाएका थिए ।

अहिले ‘लाज शरणम्’ टिमले प्रमोसनल गीतको रुपमा अधिकार लिएर भिडियो निर्माण गरेको हो । सार्वजनिक गीतले नेपालको वर्तमान अवस्था र विकासको कुरा गर्छ ।

गम्भीर विष्टको केरियोग्राफी गरेको गीतको भिडियोमा अर्जुन घिमिरे, महेश त्रिपाठी, सागर लम्साल, हरिष निरौला, वविन राई, गजित विष्ट, रामबाबु रेग्मी, आयुसी ढकाल र सानु पाण्डेको अभिनय रहेको छ । बालेन मेयर भएपछि उनले गाएको गीत सार्वजनिक भएको यो पहिलोपटक हो । मेयर भएपछि उनले हालसम्म कुनै पनि गीत गाएका थिएनन् ।

यो गीतले ‘लाज शरणम्’को हाइप थप बढाउनेमा निर्माणपक्ष ढुक्क छ । बालेनको लोकप्रियताजस्तै सिनेमाको गीत र सिनेमा पनि रुचाइनेमा निर्माण टिमको विश्वास छ । फागुन १४ गते महाशिवरात्रीको दिन रिलिज हुने सिनेमा ‘लाज शरणम्’ले केही दिनअगाडि मात्रै ‘हेर्दा हेर्दैमा’ बोलको गीत सार्वजनिक गरेको थियो ।

सिनेमा ‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको हो । लेखक, कलाकारदेखि निर्देशकसम्म यो सिनेमामा ‘सक्किगोनि’ टिमबाट छन् । सिनेमाको मुख्य भूमिकामा सिताराम कट्टेल ‘धर्मुस’ छन् । यो सिनेमालाई कुमार कट्टेलले निर्देशन गरेका हुन् । सिनेमामा धुर्मुससँगै अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह-निर्माताको रूपमा रहेका छन् ।