द सिनेमा टाइम्स, काठमाडौं । आगामी फागुन २९ गते रिलिज हुने सिनेमा ‘अञ्जिला’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बा घरभित्रबाट बाहिर निस्कन गरेको संघर्षदेखि कप्तानसम्मको कथा देखाइएको छ ।
टिजरमा यो एउटा संघर्षशील सपना देख्नेहरूको कथा भनिएको छ भने रेडियोमा बजाइएको आवाजमार्फत ‘अन्तर्राष्ट्रिय रूपमा पनि देशलाई प्रतिनिधित्व गर्ने निष्कलङ्क एउटा विधा छ भने त्यो खेल नै हो’ भन्ने भाष्यलाई स्थापित गर्दै अघि बढाइएको छ । टिजरमा एञ्जिला आफैं मुख्ख भूमिकामा छिन् भने अभिनेता दयाहाङ राई र अभिनेत्री सृजना सुब्बा उनको माता–पिताको भूमिकामा देखिएका छन् ।
पिता फुटबलको विपक्षमा र आमा पक्षमा देखिएका छन् । एञ्जिलाका पिताले ‘तेरो फुटबलले मेरो इज्जत गयो’ भनिरहँदा आमाले भने ‘मलाई विश्वास छ, तँ फर्केर आउँदा तेरो पछि भीड लाग्नेछ । र मैले छाती खोलेर ढ्याङ्ग्रो ठटाएर भन्छु कि मेरो छोरी आउँदै छे’ भनेकी छन् । टिजरमा एञ्जिलाले विद्यालयमा ‘अब फुटबल खेल्दिन भनेर बुबासँग पैसा मागेर ल्याएकी हुँ (शुल्क तिर्दै), मेरो ठाउँमा अरू कसैलाई खेलाउनु है’ संवादले उनको खेलाडी बन्ने सपना पछाडिको संर्षलाई झल्काउँछ ।
सिनेमाका निर्देशक मिलन चाम्सले एञ्जिलाको विगतका छायाबाट भविष्यका लागि गरेको संघर्षसम्म रहेको बताउँदै एञ्जिलाको वास्तविक कथामा आधारित रहेको बताए । सिनेमामा एञ्जिलासँगै सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, र बुद्धि तामाङले पनि अभिनय गरेका छन् । निर्माता प्रेम कुमार श्रेष्ठले पनि सिनेमामा मुख्ख भूमिका निर्वाह गरेका छन् ।
मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता प्रेम कुमार श्रेष्ठ तथा सह-निर्माता टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया हुन् । सिनेमाको छायांकन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौँमा गरिएको छ । सिनेमाको छायांकन सुदीप बराल र सम्पादन मिलन श्रेष्ठले गरेका हुन् । विनोद सुवेदी खत्रीले सिनेमामा निर्माण नियन्त्रकको भूमिका निर्वाह गरेका छन् ।


प्रतिक्रिया