द सिनेमा टाइम्स, काठमाडौं । कथाकार गुरुप्रसाद मैनालीको कृतिमा आधारित सिनेमा ‘परालको आगो’मा कलाकार जितु नेपाल अनुबन्धित भएका छन् । सिनेमा निर्माण कम्पनी हरिओम सिने मेकर्सका तर्फबाट निर्माता सुशील पोखरेलले जितुलाई सिनेमामा अनुबन्ध गरेका हुन् ।
मैनाली कथा पुरस्कार ट्रस्टले केही महिनाअघि हरिओम सिने मेकर्स निर्माता कम्पनीलाई सिनेमा निर्माणको मञ्जुरी दिइसकेको छ । ‘परालको आगो’ मैनालीको कथा संग्रह ‘नासो’मा संग्रहित छ । निर्माता पोखरेलका अनुसार जितु सिनेमाका प्रमुख दुई पात्रमध्ये एक हुन् ।
‘अर्को प्रमुख पात्र पनि चाँडै फाइनल हुनेछ । यसबाहेक सेकेण्ड लिडका लागि अर्की एक अभिनेत्री पनि फाइनल हुँदैछिन्’, निर्माता पोखरेलले भने, ‘चामे, गौंथली र जुठे दमाईको वरिपरि घुम्ने कथामा जितुको क्यारेक्टर कुन भन्ने चाहिँ अहिले सस्पेन्समा नै राखेका छौं ।’
सिनेमामा संकल्प भुजेलको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, सत्य-स्वरुपराज आचार्यको संगीत हुनेछ । सिनेमाका निर्माण नियन्त्रण नगेन्द्र घिमिरे हुन् । सिनेमामा यसअघि नै अभिनेत्री सुहाना थापा फाइनल भइसकेकी छन् । निर्माता पोखेलका अनुसार सिनेमाको प्रदर्शन २०८२ मा हुनेछ । यो नाममा ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले सिनेमा निर्माण गरेका थिए ।
कथा ‘परालको आगो’ मा दुई पात्र चामे र गौँथलीको घरझगडालाई प्रस्तुत गरिएको छ । निर्माता पोखरेलले यसपटक लोकेसन, प्रस्तुतीकरण र पटकथालाई फरक किसिमले सिनेमामा प्रस्तुत गर्न लागेको बताए । सिनेमामा निर्देशक लक्ष्मण सुनारको निर्देशन रहने छ ।


प्रतिक्रिया