द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता तथा गायक प्रकाश सपूत र अभिनेत्री परीक्षा लिम्बूको मुख्य भूमिका रहेको सिनेमा ‘सोल्टिनी’को छायांकन सकिएको छ । इलाम बजार, बिब्ल्याँटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुर गाउँका दृश्यहरू कैद गर्दै ३६ दिनमा सिनेमा प्याकअप भएको निर्देशक अर्जुन सुवेदीले बताए । मंगलबार साँझ भोजपुरको अन्नपूर्ण गाउँमा सिनेमाको अन्तिम दृश्य खिचिएको हो ।
निर्देशक सुवेदीले पर्याप्त पूर्व तयारीका कारण समयमै छायांकन सकिएको जानकारी दिए । ‘सशक्त स्क्रिप्ट, अनुभवी कलाकार र कुशल प्राविधिक टिमकै कारण हामीले निर्धारित समयभित्रै छायांकन सकायौं,’ सुवेदी भन्छन्, ‘इलाम बजारदेखि भोजपुरसम्मका विविध स्थानहरूको चयनले कथालाई जीवन्त बनाउन मद्दत गर्यो ।’
‘सोल्टिनी’मा प्रकाश र परीक्षासहित विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडा लगायतको अभिनय छ । प्रकाशले ‘भीमसेन पोखरेल’ र परीक्षाले ‘दिलासा राई’को भूमिका निभाएका छन् । उनीहरुबीचको अन्तरजातीय प्रेमकथामा सिनेमा आधारित छ ।
सिनेमाले नेपाली समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावविरुद्ध सशक्त रुपमा आवाज उठाउँदै दुई मुख्ख पात्रबीचको प्रेमकथा भन्ने जनाइएको छ । सुशन प्रजापतिको छायांकन रहेको सिनेमामा प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतको संगीत छ । आगामी असोज ३ गते संविधान दिवसमा प्रदर्शन मिति घोषणा भइसकेको सिनेमाका निर्माता रेजिना बिस्ट र संसार चौलागाई हुन् ।


प्रतिक्रिया