द सिनेमा टाइम्स, काठमाडौं । गायक रामकृष्ण ढकालले सिनेमा ‘मालती मंगले’को निर्माण घोषणा गरेका छन् । बुधवार गायक ढकालले सामाजिक सञ्जालमार्फत सिनेमा निर्माण गर्ने जानकारी दिएका हुन् । यो सिनेमा केही दिनअघि चलचित्र विकास बोर्डमा दर्ता गरिएको थियो ।
नेपाली संगीत क्षेत्रका लोकप्रिय गायक ढकालको सिनेमासँग पुरानो सम्बन्ध छ । उनले यसअघि २०५८ सालमा निर्माण भएको सिनेमा ‘आशीर्वाद’मा अभिनय गरेका थिए । यो सिनेमा उनका अभिभावक गोपाल कर्माचार्यले निर्माण गरेका थिए । ‘आशीर्वाद’ ढकालको सांगीतिक यात्रासँग विशेष रूपमा जोडिएको र उनको जीवनकै अविस्मरणीय क्षणमध्ये एक रहेको उनले स्मरण गरेका छन् ।
ढकालले फेसबुकमा लेखेका छन्, ‘समय कति छिटो बित्दो रहेछ, आज त्यो क्षणलाई सम्झँदा २३ वर्ष बितिसकेको रहेछ । अब, फेरि पनि सिनेमासँगको अर्को यात्रामा अघि बढ्ने अवसर मिलेको छ । यसपटक भूमिकामा परिवर्तन आएको छ । म निर्माता को रूपमा तपाईहरूसामु आउँदै छु ।’
संगीतलाई जीवन मानेका ढकालले सिनेमा ‘मालती मंगले’ आफ्ना लागि विशेष महत्त्व राख्ने उल्लेख गर्दै भनेका छन्, ‘यो सिनेमाले मेरा सपनाहरूको एउटा ठुलो हिस्साको प्रतिनिधित्व गर्छ । म सबै दर्शक, सिनेमा प्रेमी, शुभचिन्तक र संगी–साथीहरूसँग यो यात्रामा साथको अपेक्षा गर्दछु ।’
रानी म्युजिक इन्टरनेशनल प्रालि ब्यानरमा यो सिनेमा निर्माण हुनेछ । सिनेमाको निर्देशन प्रकु पाण्डे (प्रकाश)ले गर्नेछन् भने कार्यकारी निर्माताको रूपमा सागर ज्ञवाली रहनेछन् । हालका लागि सिनेमाको अन्य टिमबारे जानकारी दिन बाँकी रहेको ढकालले बताएका छन् ।


प्रतिक्रिया