द सिनेमा टाइम्स, काठमाडौं । बुधबार चुच्चेपाटीस्थित एफक्युब सिनेमाज् हलमा आयोजित सिनेमा ‘रंगी’को प्रिमियर शोमा सकारात्मक प्रतिक्रिया पाएको छ । फागुन २ गते भोलि शुक्रबारबाट रिलिज हुने सिनेमाको प्रिमियरमा उपस्थित सिनेमाकर्मीले सिनेमा राम्रो बनेको प्रतिक्रिया दिएका हुन् ।
अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको सिनेमा विशेषत बाबुछोरीको कथामा आधारित छ । सिनेमा हेरेपछि निर्देशक दीपाश्री निरौला, कलाकार निर्मल शर्मा, दीपक आचार्य ‘काकु’, कमेडियन भरतमणि पौडेल, सुमन कोइराला, कोरियोग्राफर गम्भीर विष्ट, निर्देशक ज्ञानेन्द्र देउजालगायतले ‘रंगी’को कथावस्तु मन परेको बताए ।
उनीहरुले बाबुछोरीको सम्बन्ध, कलाकारको अभिनय, प्राविधिक र निर्देशकीय पक्षको तारिफ गरेका थिए । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको सिनेमामा सुरेश न्यौपानेको डेब्यू निर्देशन छ । सिनेमामा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ । सिनेमा ‘रंगी’ सलोनको डेब्यू निर्माण हो ।
सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमको निर्माण रहेको फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ । सिनेमालाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछ ।


प्रतिक्रिया