पल र दीपिका अभिनित ‘मायावी’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

पल र दीपिका अभिनित ‘मायावी’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
217
Shares

द सिनेमा टाइम्स, काठमाडौं । दीवाकर भट्टराईको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘मायावी’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक सिनेमाको तीन मिनेट लामो ट्रेलरले कथावस्तुबारे जानकारी गराउँछ ।

लभस्टोरी सिनेमा बनाउन सिपालु मानिएका दीवाकर निर्देशित सिनेमाले प्रेम प्राप्ति मात्र होइन, त्याग पनि हो भन्ने कुरालाई ‘मायावी’को मुख्य कथावस्तु बनाएको ट्रेलरबाट बुझ्न सकिन्छ । सिनेमाको ट्रेलर रिलिज कार्यक्रममा कलाकारले सिनेमा निर्माण गर्दाको दुख र रमाइलो पल शेयर गरेका थिए । निर्देशक दिवाकर भट्टराइले सिनेमा निर्माणको समयमा पाएको दुख शेयर गर्दै गर्दा धेरैका आँखा रसाएका थिए ।

सिनेमाले दर्शकलाई निराश नबनाउने र सबैको अगाडि छाती खोलेर प्रिमियर गर्ने निर्देशक दिवाकर भट्टराइले बताए । अभिनेता पल शाहले आफुलाई माया गर्ने जो कोहीपनि यो सिनेमा हेर्न हलसम्म पुग्न आग्रह गरेका थिए । ‘मायावी’ले लभ स्टोरी सिनेमाको निर्माणमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।

पोखराको परिवेशमा खिचिएको सिनेमाको ट्रेलर अभिनेता पल शाह र अभिनेत्री दीपिका प्रसाईमा केन्द्रित छ । मनमौजी स्वभावको एक युवक पलको जीवनमा एक युवती दीपिकाको आगमनपछि आउने आरोह अवरोहलाई रोचक र मर्मस्पर्शी रुपमा देखाइएको छ । पलले बोलेका संवाद हाबी रहेको ट्रेलरमा उनको डाइलग डेलिभरी स्वभाविक लाग्छ ।

आगामी फागुन १४ गते अर्थात् महाशिवरात्रिबाट प्रदर्शनमा आउन लागेको सिनेमामा पल र दीपिकासँगै लक्ष्मी गिरी, राजाराम पौडेल, अंशु महर्जन, रवि डंगोल, रमा प्रसाई, दीपेन्द्र सिम्खडा, संगीता सिलवाल लगायतको पनि अभिनय छ । यो सिनेमाबाट समिम खानले डेब्यु गरेका छन् । ट्रेलरमा उनको विवाह दीपिकासँग भएको देख्न सकिन्छ ।

क्रियटिभ सिने आर्टस् प्रालिको ब्यानरमा निर्माण भएको सिनेमामा नेम महर्जनको लगानी छ । ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्त निर्माता तथा प्रवीण भट्टराई र करण सिंह कार्यकारी निर्माता रहेको सिनेमामा मञ्जु भण्डारी, राजु पराजुली र सुमित ओली सह-निर्मातामा छन् ।

राज कुमार कार्की लाइन प्रोड्यूसर रहेको सिनेमाको ट्रेलरलाई साहिल खानले तयार पारेका हुन् । सिनेमाको गीतमा शम्भुजित बाँस्कोटा र एसडी योगीले संगीत दिएका छन् भने कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, राजु विक्रम थापाको डीओपी तथा मिलन श्रेष्ठको सम्पादन छ ।