द सिनेमा टाइम्स, काठमाडौं । फागुन २ गते आज शुक्रबार भ्यालेनटाइन डेको अवसर पारेर दुई सिनेमा ‘दुःखी आत्मा’ र ‘रंगी’ प्रदर्शनमा आएका छन् । फरक जनरामा निर्माण भएका यी दुई सिनेमाले मंसिर यता कमजोर बनेको बक्सअफिसलाई चलायमान बनाउने अपेक्षा गरिएको छ ।
यी दुवै सिनेमाले मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्म रिलिज भएका छन् । दुखी आत्माको तुलनामा रंगीले निकै कम शो पाएको छ । यसको मुख्य कारण स्टारकास्ट रहेको सिनेमाकर्मीको बुझाई छ । तर, दर्शकबाट वर्डअफ माउथ राम्रो मिलेको खण्डमा शो थपिँदै जाने विश्वास निर्माण टिमको छ । दुखी आत्माले पनि राम्रो शो पाएको छ । दर्शकको राम्रो साथ र वडअफ माउथ राम्रो मिलेको खण्डमा शो अझै थपिने आश निर्माण टिमको छ ।
दीपेन्द्र लामाको निर्देशनमा बनेको ‘दुःखी आत्मा’ले यौन दुर्बलताको विषय उठाएको छ । सिनेमामा हिमाल कडरियाको लगानी छ । सुदिप ढकाल कार्यकारी निर्माता रहेको सिनेमामा दयाहाङ र आँचलसँगै अनुप विक्रम शाही, वुद्दि तामाङ लगायतका कलाकारहरुको अभिनय छ । सिनेमाले यौन दुर्बलताको कथा भन्छ । यो सिनेमामा दर्शकले अभिनेता दयाहाङ राइको फरक भूमिका रहेकाले पनि हेर्न इच्छुक रहेको प्रतिक्रिया पनि दिएका छन् ।
‘रंगी’ले बाबु-छोरीबीचको भावनात्मक सम्बन्धको कथा भन्छ । एकल बाबुले सन्तान हुर्काउन गरेको दुःख र मिहिनेतमा सिनेमा आधारित छ । सिनेमामा अभिनेता सलोन बस्नेलले बाबुको भूमिका निभाएका छन् भने बाल कलाकार आयुषी ढकाल उनको छोरीको भूमिकामा छिन् । सलोन स्वयंको लगानीमा बनेको ‘रंगी’का निर्देशक सुरेश न्यौपाने हुन् ।
सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको सिनेमामा सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतम निर्मातामा छन् । सिनेमामा नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ ।


प्रतिक्रिया