यौन दुर्वलताको कथामा बनेको ‘दुखी आत्मा’लाई प्रिमियर शोमा उत्कृष्ट प्रतिक्रिया

यौन दुर्वलताको कथामा बनेको ‘दुखी आत्मा’लाई प्रिमियर शोमा उत्कृष्ट प्रतिक्रिया

द सिनेमा टाइम्स
49
Shares

द सिनेमा टाइम्स, काठमाडौं । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘दुखी आत्मा’ टिजर र ट्रेलर रिलिजपछि चर्चामा थियो । यो सिनेमा भ्यालेनटाइन डेको अवसर पारेर आज शुक्रबारबाट प्रदर्शनमा आइसकेको छ ।

यौन दुर्बलताको विषयमा आधारित भएर बनेको सिनेमाले रिलिजको पूर्वसन्ध्यामा बिहीबार साँझ काठमाडौंमा आयोजित प्रिमियरमा उत्साहजनक प्रतिक्रिया पाएको थियो । प्रिमियरमा उपस्थित सवैले उठाउनैपर्ने विषयमा रमाइलो सिनेमा बनेको धारणा व्यक्त गरेका थिए ।

निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले इरेक्टाइल डिसफङ्सनजस्तो चुनौतीपूर्ण विषयमा सिनेमा बनाउने आँट गरेकोमा निर्देशक दीपेन्द्र लामालाई धन्यवाद दिइन् । ‘यो उठाउनै पर्ने विषय थियो । यस्तो विषय उठाउन चुनौती पनि छ । यसैले दीपेन्द्र लामालाई धन्यवाद दिनुपर्छ । उहाँ सधैं फरक विषयमा सिनेमा बनाउनुहुन्छ । यो त झनै फरक विषयमा छ,’ उनले भनिन् ।

अभिनेत्री लुनिभा तुलाधरले पछिल्लो समय फरक-फरक विषयमा सिनेमा बनिरहेकोमा खुसी व्यक्त गरिन् । ‘अहिले मानसिक स्वास्थ्य, यौन स्वास्थ्य, लैङ्गिक अल्पसंख्यकको कथामा सिनेमा बनिरहेका छन् । यसैले मलाई लाग्छ, अहिले नेपाली सिनेमामा राम्रो समय चलिरहेको छ,’ उनले ‘दुखी आत्मा’बारे भनिन्, ‘यो रमाइलो फिल्म छ । हेर्दा मज्जा आउँछ ।

‘फर्की फर्की’ फेम्ड निर्देशक सुयोग गुरुङले सिनेमाले गम्भीर विषयलाई हास्य शैलीमा प्रस्तुत गरेको प्रतिक्रिया दिए । ‘मलाई सिनेमा दामी नै लाग्यो । मैले सिनेमा हेर्दा पेट मिचिमिचि हाँसेको धेरैपछि हो । सिनेमाले एकदमै गम्भीर र संवेदनशील विषय उठाएको छ । त्यसमा जसरी ह्यूमर मिसाइएको छ, त्यो गजब छ,’ उनले भने । यो सिनेमा हरेक उमेरका दर्शकले हेर्नुपर्ने सुयोगको धारणा छ ।

प्रिमियरमा निर्देशकहरु नविन सुब्बा, दीपक रौनियार, ज्ञानेन्द्र देउजा, निर्माताहरु अर्जुन कुमार, विनोद पौडेल, अभिनेत्री उषा रजक, कथावाचक साइग्रेस पोखरेल, मोडल उषा उप्रेती लगायत पनि पुगेका थिए । उनीहरुले अहिलेसम्म यस्तो विषयमा सिनेमा नबनेको बताउँदै कथावस्तु, प्रस्तुति, संवाद, कलाकारहरुको अभिनयको प्रशंसा गरेका थिए ।

सिनेमामा दयाहाङ राई, आँचल शर्मा, अनुपविक्रम शाही, बुद्दि तामाङ, रेअर राई, पुष्कर गुरुङ, कविता आले, दीया मास्के, आशान्त शर्मा, लुनिभा तुलाधर लगायतको अभिनय रहेको छ । सुदीप ढकाल कार्यकारी निर्माता रहेको सिनेमालाई हिमाल कडरियाले निर्माण गरेका हुन् । आरआर फिल्मस्ले सिनेमाको नेपालभर वितरण गरेको हो ।