द सिनेमा टाइम्स, काठमाडौं । संगीतकार टंक बुढाथोकीले डेव्यु निर्देशकीय सिनेमा ‘मन बिनाको धन’को छायांकन सुरु गरेका छन् । शुक्रबार बिहान कोटेश्वर महादेव मन्दिरमा शुभमुहूर्त पूजापछि काठमाडौंको बालकोटबाट सिनेमाको छायांकन थालिएको हो । सिनेमाका मुख्य कलाकार अशोक दर्जी र सन्तोष पन्तले मुहूर्त सट दिएका थिए । गायक अशोकले यही सिनेमाबाट अभिनयमा डेब्यु गर्दैछन् ।
‘मन विनाको धन’ गायक दर्जीले बाल्यकालमै गाएको पहिलो गीत हो । यसले उनको जीवन नै परिवर्तन गरेको थियो । ६ वर्षअघि रिलिज भएको यो गीतलाई युट्युबमा झन्डै तीन करोडले हेरिसकेका छन् । लामो समयदेखि संगीतकार बुढाथोकीको संरक्षणमा रहेका अशोक अहिले काठमाडौंमा कक्षा ८ मा अध्ययनरत छन् ।
निर्देशक बुढाथोकी स्वयंको कथा रहेको सिनेमामा अशोक र सन्तोषसहित सरोज खनाल, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, आर्यन नेपाल लगायतको अभिनय रहनेछ ।
शिवम अधिकारीको पटकथा तथा संवाद लेखन रहेको सिनेमाको निर्मातामा बिष्णु माया मैनाली तथा सह-निर्मातामा जीपी संग्रौला, लक्ष्मी गिरि, विवेक नेपाल, विजया पाण्डे र कार्यकारी निर्मातामा मिनु शर्मा (सपना) छिन् । सिनेमामा टंक बुढाथोकीको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी र मित्र डि गुरुङको सम्पादन रहनेछ ।


प्रतिक्रिया