द सिनेमा टाइम्स, काठमाडौं । अमेरिकाको प्रतिष्ठित हावर्ड विश्वविद्यालयमा दीपक रौनियार निर्देशित नेपाली सिनेमा ‘राजागंज’लाई प्रदर्शन गरिने भएको छ । हावर्डको साउथ एसिया इन्स्टिच्युटले आगामी अप्रिल ७ मा स्क्रिनिङ गर्न लागेको हो ।
आयोजक मित्तल इन्स्टिच्युट क्याम्ब्रिज अफिसले क्याम्ब्रिजस्थित हार्वर्ड क्याम्पसमा सिनेमा देखाउन लागिएको जनाएको छ । स्क्रिनिङपछि निर्देशक रौनियार र विश्वविद्यालयको सिनेमा अध्ययन केन्द्रकी प्रशासनिक निर्देशक तथा कला, सिनेमा र भिजुअल स्टडिजकी ब्याख्यता जुली मलोज्जीले छलफल गर्नेछन् ।
नेपालको मधेश क्षेत्रको परिवेशमा खिचिएको सिनेमाले दुई पहाडे बच्चा अपहरण गरिएपछि तिनलाई मुक्त गर्न प्रहरीले चालेको खोजीको कथा ‘राजागंज’मा छ । हावर्डमा नेपाली सिनेमा प्रदर्शन र छलफल गर्न लागिएको पहिलो पटक हो ।
सिनेमाको मुख्य भूमिकामा आशा मगराती, निकिता चाण्डक, ऋचा शर्मा, पशुपति राई, दयाहाङ राई, विजय बराल लगायतले अभिनय गरेका छन् । यो सिनेमाको निर्माण आदि फिल्म्सका लागि रौनियार र मगराती, बाँसुरी फिल्म्सका लागि रामबाबु गुरुङ र तन्हाउसर गेटका लागि एलन आर मिलिगनले गरेका हुन् ।
भेनिस सिनेमा महोत्सवमा वल्र्ड प्रिमियर भएको ‘राजागंज’ चैत १ गते अर्थात् मार्च १४ मा नेपालका हलमा रिलिज हुँदैछ । सिनेमाले विदेशी सिनेमा महोत्सवमा पाएको उत्कृष्ट प्रतिक्रियाले नेपालमा पनि राम्रो व्यापार गर्ने विश्वास निर्माण टिमलाई छ ।


प्रतिक्रिया