द सिनेमा टाइम्स, काठमाडौं । निर्माण घोषणादेखि नै चर्चा र दर्शकको प्रतीक्षामा रहेको सिनेमा ‘बलिदान’को छायांकन चार महिनामा सकिएको छ । निर्देशक सन्तोष सेनले कठिन परिस्थितिसँग जुध्दै उत्कृष्ट सिनेमा निर्माणको लक्ष्य पूरा गर्ने क्रमको छायांकन चरण पार गरेको जानकारी दिए । शुक्रवार मोरङको हसिना सिमसारस्थित बुढासुब्बा मैदानमा लिइएको अन्तिम दृश्यमा अभिनेता समीर भट्ट र अभिनेत्री ऋचा शर्माको अभिनय रहेको थियो ।
निर्देशक सेनका अनुसार ‘बलिदान’लाई महान सिनेमा बनाउने यात्रामा कुनै सम्झौता गरिएको छैन । ‘कथाको सिर्जना होस् वा कलाकार, प्राविधिक र प्रविधिको छनोट हामीले सोचेभन्दा राम्रो गर्न सफल भयौं । शारीरिक, मानसिक र भावनात्मक रूपमा धेरै संघर्ष गर्यौं तर सिनेमालाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी राखेनौं,’ उनले भने ।
निर्माण टोलीको मेहनतबारे बोल्दै उनले थपे, ‘चार महिनासम्म रातदिन रगत-पसिना बगाएर मेहनत गर्यौं । यो सिनेमाको लागि सम्पूर्ण टिमले जुन बलिदानी दिएको छ, त्यसलाई शब्दमा मात्र धन्यवाद दिएर पुग्दैन । म विश्वस्त छु, उनीहरूको काम ‘बलिदान’ मार्फत अमर रहनेछ ।’
यो सिनेमा देशका लागि केही गर्ने जोस र हुटहुटीले बनेको सेनको भनाई छ । उनले दर्शकको सदाशयताले थप प्रेरणा दिएको बताउँदै भने, ‘आगामी दिनमा पनि दर्शकको साथ पाइरहने विश्वास छ । कथाको आवश्यक बलिदानी दिएर अन्तिम दृश्य खिच्यौं र छायांकनको चरणलाई बिट मार्यौं ।’
सिनेमाको सम्पादन कार्य अब छिट्टै सुरु हुने र पोस्ट प्रोडक्सनका क्रममा पनि कुनै सम्झौता नगर्ने निर्देशक सेनले बताए । सिनेमाको प्रदर्शन मितिबारे निर्देशक सेनले भने, ‘अब छिट्टै टिजर रिलिज हुनेछ, जसमा रिलिज मिति घोषणा गरिनेछ ।’ यो सिनेमाको रिलिज मितिलाई लिएर दर्शकमा उच्च अपेक्षा रहेको छ ।
नेपाली सिनेमा उद्योगमा ऐतिहासिक र देशभक्तिपूर्ण कथावस्तुका कारण ‘बलिदान’ प्रति दर्शकको विशेष चासो रहँदै आएको छ । सिनेमामा उत्कृष्ट कलाकारहरूको सहभागिता, प्रविधिको उच्चतम प्रयोग र कथाको गहिरो प्रभावशीलताले यसलाई बहुप्रतिक्षित बनाएको छ । सम्भवतः निरन्तर रूपमा सबैभन्दा धेरै समय छायांकन भएको र सबैभन्दा महँगो लगानीको सिनेमाको रूपमा पनि ‘बलिदान’लाई हेर्न सकिन्छ ।
सिनेमामा अभिनेता समीर भट्टको प्रमुख भूमिका छ, भने सौगात मल्ल, अर्पण थापा, कामेश्वर चौरासिया, ऋचा शर्मा लगायतका कलाकारको पनि अभिनय रहेको छ । ‘बलिदान’को कथा नेपालको सार्वभौम भूमिमा भइरहेको शोषण, अन्याय र समाजका तथाकथित नाइकेहरूको विरुद्धको संघर्षमा आधारित रहेको बताइएको छ ।
सिनेमामा दक्षिण भारतका चर्चित एक्सन निर्देशक स्टन्डर सामको नेतृत्वमा करिब ३० जनाको टोलीले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै एक्सन दृश्य खिचेका थिए । यो सिनेमाको क्लाइमेक्स दृश्यहरू छायांकनका लागि बुढासुब्बा मैदानमा ४२ फिट अग्लो कालीमाताको भव्य मूर्ति निर्माण गरिएको थियो, जसको व्यापक चर्चा भएको थियो ।
सिनेमाको संगीतका लागि आर्टमान्डु टिमका सदस्यहरू गायक सुजन चापागाई, गीतकार हर्क साउद र निर्देशक नवीन चौहानको समूहले ‘बलिदान’का गीत, संगीत तथा ब्याकग्राउण्ड म्युजिकमा काम गरिरहेको छन् । आसुसेन फिल्मस् प्रालिको प्रस्तुति रहेको सिनेमामा पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी सह-निर्माताको भूमिकामा छन् ।



प्रतिक्रिया