बेलायतमा ‘अञ्जिला’को प्रिमियर, सिनेमाको कथा प्रभावशाली र प्रेरणादायी भएको प्रतिक्रिया

बेलायतमा ‘अञ्जिला’को प्रिमियर, सिनेमाको कथा प्रभावशाली र प्रेरणादायी भएको प्रतिक्रिया

द सिनेमा टाइम्स
42
Shares

द सिनेमा टाइम्स, काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित सिनेमा ‘अञ्जिला’को बेलायतको एल्डरसटस्थित एम्पायर हलमा शनिबार प्रिमियर गरिएको छ । बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेको प्रमुख अतिथ्यतामा आयोजित प्रिमियर शोमा सिनेमाले उत्साहजनक प्रतिक्रिया पाएको निर्देशक मिलन चाम्सले बताए ।

सिनेमाको प्रिमियर शोमा सहभागी हुन नेपालबाट निर्देशक चाम्ससहित सिनेमाकी मुख्य कलाकार सिर्जना सुब्बा, निर्माता तथा कलाकार प्रेम कुमार श्रेष्ठ र सह–निर्माता विनोद अग्रवाल बेलायत पुगेका थिए । प्रिमियरमा निर्देशक समाजका महासचिव अरुण कुमार प्रधान र सञ्चारकर्मी नरेश भट्टराई पनि उपस्थित थिए । नेपालमा जारी अन्तर्राष्ट्रिय खेल प्रतियोगिताका कारण एञ्जिला भने बेलायत प्रिमियरमा उपस्थित हुन पाइनन् ।

प्रिमियरमा राजदूत घिमिरेले ‘अञ्जिला’ले खेल जगतमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका थिए । ‘म आज साँच्चै नै गर्व गरिरहेको छु । उहाँहरुले यस्तो राम्रो बायोपिक लिएर आउनुभएको छ, जसले खेल जगतमा सकारात्मक प्रभाव पार्नेमा विश्वस्त छु । नेपालका उदयमान खेलाडीहरुमाथि सिनेमा बन्न थाल्नु खुसीको कुरा हो,’ उनले भने ।

प्रिमियरमा निर्देशक चाम्सले खेल क्षेत्रको विकास र खेलाडीहरूको संघर्षलाई उजागर गर्न सिनेमा निर्माण गरेको बताए । सिनेमाले खेल क्षेत्रको उन्नतिमा भूमिका खेल्ने उनको विश्वास छ । ‘नेपाली खेलकुद क्षेत्रलाई प्रवद्र्धन गर्न र खेलाडीको कथा दर्शकसम्म पु¥याउन ‘अञ्जिला’ बनाएका हौं,’ चाम्सले भने, ‘नेपाली खेल क्षेत्रमा अझै धेरै कथाहरु छन्, जसलाई सिनेमामार्फत विश्वसामु लैजान सकिन्छ ।’

प्रिमियरमा ‘अञ्जिला’ निकै प्रभावशाली र प्रेरणादायी रहेको प्रतिक्रिया मिलेको निर्माता प्रेम कुमार श्रेष्ठले बताए । नेपालमा खेलाडी बन्न कति कठिन रहेछ भन्ने सिनेमा हेरेपछि महसुस भएको प्रतिक्रिया दर्शकहरुबाट प्राप्त भएको उनको भनाई छ । उनका अनुसार सिनेमा हेर्दा कति दर्शक भावुक पनि भएका थिए । बेलायतमा मिलेको प्रतिक्रियाले आफू उत्साहित भएको उनले बताए ।

सिनेमाको यसअघि हङकङमा पनि प्रिमियर गरिएको थियो । अब अमेरिका, अस्ट्रेलिया र जापानमा रिलिज गरिँदैछ । निर्माता श्रेष्ठका अनुसार प्रिमियरबाट संकलित सबै रकम एञ्जिलाका लागि काठमाडौंमा घर बनाउन प्रयोग हुनेछ । एञ्जिलाले आफूलाई प्राप्त हुने घरलाई भविष्यमा फुटबल एकेडेमीका रूपमा विकास गर्ने योजना बनाएकी छन् ।

एञ्जिलाले फुटबल खेलाडी बन्न गरेको संघर्षदेखि राष्ट्रिय टिमको कप्तान हुँदासम्मको कथालाई सिनेमामा प्रस्तुत गरिएको छ । ‘अञ्जिला’ नेपालमा यही फागुन २९ गतेबाट प्रदर्शनमा आउँदैछ । सिनेमामा कप्तान एञ्जिलासहित सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ । सिनेमाको छायांकन सुदीप बरालले गरेका हुन् ।