द सिनेमा टाइम्स, काठमाडौं । फागुन २ गते शुक्रबारबाट प्रेम दिवसको दिन पारेर नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनमा आएको सिनेमा ‘दुखी आत्मा’लाई युएईमा भने प्रतिबन्ध लगाइएको छ । दुईपटक सेन्सर गर्दा पनि युएई मिडिया काउन्सिलले रिलिज अनुमति नदिँदा युएईमा बस्ने नेपाली सिनेमा हेर्नबाट बञ्चित भएका हुन् । युएईमा सिनेमा सेन्सर पास नहुँदा अर्को देश बहराइनमा पनि सिनेमाको रिलिज रोकिएको छ ।
युएईमा सिनेमाको दुईपटक सेन्सर गरिएको थियो । तर, दुवैपटक सिनेमा सेन्सर पास हुन सकेन । मिडिया काउन्सिलको निर्देशन बमोजिम केही दृश्य काँटछाँट गरेर दोस्रो पटक सेन्सरमा लैजाँदा समेत सिनेमा पास नभएको निर्देशक दीपेन्द्र लामाले जानकारी दिए । मिडिया कन्टेन्टको सीमाभित्र नपरेका कारण युएईले सिनेमा रिलिजमा रोक लगाएको हो ।
युएईको मिडिया काउन्सिलले गरेको निर्णय बहराइनमा पनि लागू हुन्छ । यसैले बहराइनमा समेत ‘दुःखी आत्मा’को रिलिज रोकिन पुगेको छ । तर, अर्को देश कतारमा सिनेमा सेन्सर पास भएर शुक्रबारबाट प्रदर्शनमा पनि आइसकेको छ । कतारले सिनेमाको कुनै दृश्य काँटछाँट नगरी रिलिजको अनुमति दिएको निर्देशक लामाले बताए ।
नेपालमा शुक्रबारदेखि रिलिजमा आएको सिनेमा ‘दुखी आत्मा’लाई दर्शकले उत्कृष्ट प्रतिक्रिया दिइरहेका छन् । हलमा सिनेमा हेर्न पुगेका अधिकांश दर्शकले यसको कथावस्तु, कलाकारहरुको अभिनय, प्रस्तुति मन परेको बताए । एउटा नयाँ कथामा सिनेमा बनेको भन्दै उनीहरुले सबैलाई हेर्न आग्रह गरेका थिए ।
दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, वुद्दि तामाङ, रेअर राई लगायतका कलाकारहरुले अभिनय गरेको यो सिनेमा ले ‘इडी’ रोग लागेका पुरुषहरुको कथा भन्छ । हिमाल कडरिया निर्माता रहेको सिनेमामा सुदिप ढकाल कार्यकारी निर्माता छन् ।


प्रतिक्रिया