दर्शकको उत्कृष्ट प्रतिक्रिया सहित युट्युब ट्रेन्डिङमा ‘मायावी’को ट्रेलर

दर्शकको उत्कृष्ट प्रतिक्रिया सहित युट्युब ट्रेन्डिङमा ‘मायावी’को ट्रेलर

द सिनेमा टाइम्स
70
Shares

द सिनेमा टाइम्स, काठमाडौं । महाशिवरात्रीको अवसरमा प्रदर्शनमा आउने सिनेमा ‘मायावी’को गत फागुन १ गते बिहीबार एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको थियो । सिनेमाको सार्वजनिक लभस्टोरी ट्रेलरले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएको छ । ट्रेलरले दर्शकबाट राम्रो प्रतिक्रिया पाएपछि सिनेमाको निर्माण टिम उत्साहित देखिन्छ ।

सिनेमाको चार दिनअघि सार्वजनिक प्रेम र वियोग मिश्रित ट्रेलरलाई युट्युब लगायत विभिन्न सामाजिक सञ्जाल प्लेटफर्ममा रुचाइएको छ । युट्युबमा ११ लाख बढी भ्यूज पाइसकेको ट्रेलरलाई अब्बल प्रतिक्रिया मिलेको छ । कतिले प्रेमिल र वियोगान्त संवाद रुचाएका छन् भने कतिले पल शाहको अभिनयको प्रशंसा गरेका छन् । ट्रेलरका प्रतिक्रियाहरु हेर्दा सिनेमा हेर्न दर्शकहरू अधैर्य रहेको देखिन्छ ।

‘मायावी’को ट्रेलरले युट्युब ट्रेन्डिङमा पनि आफ्नो उपस्थिति जनाइसकेको छ । यतिबेला ट्रेलर मुभिज सेक्सनतर्फ दुई नम्बरमा छ । ट्रेलरमा समावेश संवादहरुमा थुप्रै टिकटक समेत बनेका छन् । ट्रेलरप्रति देखिएको दर्शकको उत्साह अब हलमा कस्तो देखिन्छ, त्यो महत्त्वपूर्ण हुनेछ ।

यसअघि सिनेमाको तीन गीत ‘सितारा जडेको’, ‘टल टल टल्कियो’ र ‘त्यो माया हो’ सार्वजनिक भैसकेका छन् । सार्वजनिक गीत र पोस्टरले पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाएका थिए ।

दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा बनेको सिनेमामा पल शाह, दीपिका प्रसाँई, प्रशान्त ताम्राकार, सुशील सिटौला, करिश्मा श्रेष्ठ, डेव्यु अभिनेता समिम खान, राजाराम पौडेल, लक्ष्मी गिरी, रवि डंगोल लगायतको अभिनय रहेको छ । प्रेम प्राप्ति मात्र होइन, त्याग पनि हो भन्ने कुरालाई सिनेमाले मुख्य कथावस्तु बनाएको छ ।

क्रियटिभ सिने आर्टस् प्रालिको ब्यानरमा नेम महर्जनको लगानी रहेको ‘मायावी’मा राज कटुवाल, ध्रुव न्यौपाने र चन्द्र पन्त निर्मातामा छन् ।