द सिनेमा टाइम्स, काठमाडौं । धुलिखेल नगरपालिकाको ३९औँ स्थापना दिवसको अवसरमा चलचित्र विकास बोर्ड र धुलिखेल नगरपालिकाबीच १३०० रोपनी जग्गा हस्तान्तरणसम्बन्धी प्रारम्भिक सम्झौता भएको छ । सोमबार यी दुई सरकारी निकायबीच यस्तो सम्झौता भएको हो ।
बोर्ड अध्यक्ष दिनेश डीसी र नगरप्रमुख अशोक ब्याञ्जु श्रेष्ठबीच सम्झौता भएको हो । सो अवसरमा पूर्वसंचारमन्त्री गोकुल बासकोटा लगायतको उपस्थिती थियो । अध्यक्ष डीसीले सो अवसरमा बोल्दै धुलिखेलमा बोर्डको आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक गरे ।
बोर्ड अध्यक्ष डिसीले भने, ‘धुलिखेलमा विकास बोर्डको आउटडोर स्टुडियो निर्माण गर्ने योजना नेपाली सिनेमा उद्योगको लागि नयाँ माइलस्टोन सावित हुनेछ । यहाँको प्राकृतिक सुन्दरता र अत्याधुनिक प्रविधिको संयोजन गरेर सिनेमा निर्माणलाई सहज बनाउने परिकल्पना रहेको छ ।’
सिनेमा क्षेत्रको विकासका लागि नगरपालिकाले हरतरहले साथ दिने बताउँदै नगरप्रमुख श्रेष्ठले भने, ‘यो परियोजनाले नेपाललाई अन्तर्राष्ट्रिय सिनेमा गन्तव्यका रूपमा उभ्याउनेछ । पर्यटन प्रवद्र्धनसँगै स्थानीयलाई रोजगारी सिर्जना गर्ने महत्वपूर्ण अवसर पनि प्रदान गर्नेछ ।’
चलचित्र विकास बोर्डले नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय सिनेमा निर्माता तथा निर्देशकलाई समेत आकर्षित गर्ने लक्ष्यसहित यो परियोजना अगाडि बढाइने जनाएको छ ।


प्रतिक्रिया