द सिनेमा टाइम्स, काठमाडौं । अभिनेताद्वय विजय बराल र विल्सन विक्रम राईको मुख्य भूमिका रहेको सिनेमा ‘यो मन त मेरो नेपाली हो’ प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माताले आरआर फिल्म्ससँग वितरणसम्बन्धी सम्झौता गरेपछि आगामी असार २७ गतेलाई प्रदर्शन मिति फाइनल गरिएको हो । अहिलेसम्म यो मितिमा अन्य कुनै सिनेमाले रिलिज घोषणा गरेको छैन् ।
नर प्रधान (मित्र)को डेव्यु निर्देशनमा निर्माण भएको सिनेमामा विजय र विल्सनसँगै रोशन श्रेष्ठ, बुद्धि तामाङ, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, विजिता बर्देवा, देवराज राजबंशी लगायतको अभिनय छ । ज्ञान बहादुर प्रधान (रोशन)को लगानी रहेको सिनेमामा शिवम् अधिकारीको पटकथा तथा संवाद लेखन छ ।
विदेशमा रहेका नेपालीको मुद्धालाई सिनेमाले उठाएको निर्देशक प्रधानले जानकारी दिए । ‘नेपाली को हुन् भन्ने विषयवस्तु सिनेमामा छ,’ उनले भने, ‘विश्वका विभिन्न देशहरुमा बसोबास गर्दै आएका नेपालीहरुले आफ्नो कला, संस्कार, संस्कृति विर्सिँदै गएको हुँदा सिनेमाको माध्यमबाट नेपाली भाषाप्रतिको महत्व र इतिहास पनि दर्शाउन खोजेका छौं ।’
निर्देशक प्रधान स्वयंको कथा रहेको सिनेमामा दीपक शर्मा, विकास चौधरी र तोरम्पाहाङ राईको संगीत, सौरभ लामाको छायांकन, बनिष शाहको सम्पादन, देव महर्जनको द्वन्द्व निर्देशन, रेनिश फागोको रंग संयोजन, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी छ । सिनेमाको छायांकन नेपालको झापा र इलाम, भारतको सिक्किम र दार्जिलिङ तथा अमेरिकामा गरिएको हो ।



प्रतिक्रिया