द सिनेमा टाइम्स, काठमाडौं । महाशिवरात्रिको अवसर पारेर आगामी फागुन १४ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘लाज शरणम्’को प्रचार प्रसार सामाजिक संजाल र संचार माध्यममा नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ । पूर्व श्रममन्त्री मोहम्मद आफ्ताब आलमले दायर गरेको मुद्धामा मंगलबार भएको प्रारम्भिक सुनुवाईपछि न्यायाधीशद्वय लालबहादुर कुवँर र हेमन्त रावलको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।
अदालतको आदेशमा भनिएको छ, ‘निवेदकको संविधान कानून प्रदत्त हक अधिकारमा आघात परेको अवस्था भए अनुमति दिने क्रममा सपठीत ऐनको दफा ८ (३) बमोजिम केन्द्रीय चलचित्र जाँच समितिले अनुमति नदिई रोक्न सक्ने नै देखिँदा सो अगावै निवेदकको मुखाकृति र आवरणसँग हुबहु मिल्ने गरि पात्रले अभिनय गरेको प्रस्तावित ‘लाज शरणम्’ नामक सिनेमाको विज्ञापन सामाजिक संजाल तथा अन्य सार्वजनिक संचार माध्यममा प्रचार प्रसार र सो सम्बन्धी पोस्टहरु प्रकाशन, प्रसारण नगर्नु नगराउनु भनी विपक्षीहरुको नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (३) बमोजिम अन्तरिम आदेश जारी गरि दिएको छ ।’
अदालतले केन्द्रीय चलचित्र जाँच समितिले अनुमति नदिँदासम्म सिनेमाको प्रचार प्रसार गर्न र प्रचार सामग्री सार्वजनिक गर्न रोक लगाएको हो । सिनेमाको आज बुधबार ट्रेलर सार्वजनिक गर्ने तयारीमा निर्माण टिम थियो । तर, अदालतको आदेशसँगै ट्रेलर रिलिज रोकिने भएको छ । अब निर्मातालाई जति सक्दो चाँडो सिनेमाको सेन्सर गराउनुपर्ने बाध्यता सिर्जना भएको छ ।
सिनेमाको पोस्टर सार्वजनिक भएसँगै कलाकार सिताराम कट्टेलको गेटअप पूर्वमन्त्री आलमसँग मिलेको चर्चा भएको थियो । अन्ततः यो विषय अदालत नै प्रवेश गरेको हो । आलमले अदालतमा दायर गरेको मुद्धामा सिनेमामा आफ्नो अनुहारसँग मिल्ने मुखाकृति, पहिरन, जीउडाल, कपाल मिलाई शैली, हाउभाउ र लवज आफ्नो अनुमतिबिना प्रयोग गरिएको आरोप लगाएका छन् ।
कुमार कट्टेलको निर्देशनमा निर्माण भएको सिनेमामा सितारामसहित विजय बराल, अर्जुन घिमिरे, मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा, माला लिम्बू, सागर लम्साल, हरिष निरौला, कमलमणि नेपाललगायतको अभिनय छ । चर्चित हास्य टेलिसिरियल ‘सक्किगोनि’ टिमले निर्माण गरेको सिनेमामा नवीन श्रेष्ठ निर्माता तथा राम नरेश साह र सृजना खड्का सह-निर्माताको रूपमा रहेका छन् । सिनेमाको छायांकन सुदीप बरालले गरेका हुन् ।



प्रतिक्रिया