द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता केदार घिमिरेको मुख्य भूमिका रहने सिनेमा ‘माग्ने राजा’मा अभिनेता विल्सन विक्रम राई पनि अनुबन्धित भएका छन् । निर्माण टिमले मंगलबार विल्सनलाई औपचारिक रुपमा सिनेमामा अनुबन्ध गरेसँगै ‘माग्ने राजा’मा माग्ने बुढा र तक्मे बुढाको जुगलबन्दी पक्का भएको हो । करिब एक दशकपछि दुवैले सिनेमामा सँगै काम गर्न लागेका हुन् ।
एक दशकअघि उनीहरुले ‘राम कहानी’मा एकसाथ काम गरेका थिए । त्यसपछि निर्माताहरुको अथक प्रयासका बावजुद पनि यो जोडी सम्भव भएको थिएन । विल्सन विक्रम राईलाई ‘मेरी बास्सै’मा अभिनयको मौका दिनुसँगै उनको चरित्रलाई तक्मे बुढा नामाकरण पनि केदार घिमिरेले नै गर्दिएका थिए । विल्सन विक्रम राईले यही कारण केदार घिमिरेलाई गुरुको रुपमा मान्ने गरेका छन् ।
मंगलबार सिनेमामा तक्मे बुढालाई स्वागत गर्दै केदार घिमिरेले लामो समयपछिको सहकार्यलाई लिएर उत्साहित रहेको प्रतिक्रिया दिएका छन् । ‘हामी लामो समयदेखि एकअर्कासँग काम गर्न उत्सुक थियौं । अखण्ड प्रयासका बावजुद पनि जुरेको थिएन,’ उनले भने, ‘तर माग्ने राजामा हामी दुवैलाई अटाउने भूमिका निस्कियो । यो जुगलबन्दीलाई सार्थक बनाउने प्रयास गर्नेछौं ।’
माग्ने बुढासँगको सहकार्यलाई लिएर तक्मे बुढा पनि उत्तिकै उत्साहित छन् । ‘उहाँले र मैले टेलिभिजनबाहेक देश विदेशमा थुप्रै स्टेज शो गरेका थियौं । सँगै काम गर्ने भएपछि मन त्यता पनि पुगिरहेको छ । सिनेमामा भने त्यति धेरै सहकार्य गर्न पाइएको थिएन । यो सिनेमाले त्यो चाहना पूरा गरिदिएको छ । बुढाहरुको जोडीले पहिलेझैं दर्शक हँसाउने पक्का छ,’ विल्सनले भने ।
ऋषि लामिछानेको निर्देशनमा निर्माण हुने सिनेमामा यसअघि नै वर्षा सिवाकोटी, शिशिर वाङदेल, शारदा गिरी, पुष्कर गुरुङ लगायकका कलाकार फाइनल भैसकेका छन् । सिनेमामा अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिका रहनेछ ।
आरम्भ प्रडक्सनको प्रस्तुतिमा मुनाल घिमिरेले निर्माण गरिरहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन र सामीप्य राज तिमल्सेनाको पटकथा रहेको छ । सिनेमाको छायांकन फागुन १४ गते महाशिवरात्रीका दिनदेखि सुरु हुँदैछ ।


प्रतिक्रिया