युवापुस्ताको जोस र कलेज जीवनको कथामा ‘होस्टेल ३’

युवापुस्ताको जोस र कलेज जीवनको कथामा ‘होस्टेल ३’

द सिनेमा टाइम्स
84
Shares

द सिनेमा टाइम्स, काठमाडौं । नेपाली सिनेमाको सुपरहिट फ्रेन्चाइज होस्टेल शृङ्खलाले युवा पुस्ताको कथालाई प्रतिनिधित्व गर्दै आएको छ । पहिलो ‘होस्टेल’ले युवाहरूको जीवन, संघर्ष, मित्रता र प्रेमलाई पर्दामा देखायो, जसले दर्शकको अपार माया पाएको थियो । यो सिनेमाबाट अनमोल केसी, सलोन बस्नेत, गौरव पहारी जस्ता कलाकारको जन्म भयो ।

त्यसपछि आएको ‘होस्टेल रिटर्न्स’ले पनि कलेज जीवनका कथालाई थप वास्तविकतासँग जोड्दै नयाँ उचाइमा दिलायो । यो सिनेमाबाट पनि स्वस्तिमा खड्का, नाजिर हुसेन, सुशील श्रेष्ठ जस्ता कलाकारलाई परिचित गरायो । अब, सोही शृङ्खलाको तेस्रो अध्याय ‘होस्टेल ३’ यही फागुन २३ गतेदेखि प्रदर्शनमा आउँदैछ । ‘होस्टेल ३’ले आजका युवाको संघर्ष, मस्ती, प्रेम र जिन्दगीका उतारचढाव समेटिएका छन् ।

सिनेमाले कलेज जीवनका रमाइला क्षण मात्र होइन, तिनका चुनौतीलाई पनि पर्दामा उतारेको छ । नयाँ पुस्ताका प्रतिभाशाली कलाकार यो सिनेमामा देखिनेछन्, जसले कलेज जीवनको वास्तविक अनुभवलाई दर्शकहरूसामु प्रस्तुत गर्नेछन् । सिनेमाका प्रमुख पात्रहरूमध्ये पारस बम ठकुरी, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी र समा पराजुलीले अभिनय गरेका छन् ।

कलेज जीवनको कथामा सिनेमाका यी पात्रले प्रेम, प्रतिस्पर्धा र आत्मनिर्भरतालाई प्रस्तुत गर्नेछन् । यी पात्रहरूको जीवन यात्राले दर्शकलाई हँसाउने मात्र होइन, भावुक पनि बनाउनेछ । उनीहरूको मित्रता, ठट्टा-मजाक र संघर्षले सिनेमालाई थप जीवन्त बनाएको निर्देशक शसान कँडेल बताउँछन् । निर्देशक कँडेल र माथि उल्लेखित सबै कलाकारले यही सिनेमाबाट नेपाली रजतपटमा डेब्यु गरेका हुन् । सिनेमामा उमर खान, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष पुरुषलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।

सम्मान इन्टरटेनमेन्ट र आरोन कन फिल्मस्को सहकार्यमा निर्माण भएको सिनेमा सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी निर्माता तथा शंकर कोइराला कार्यकारी निर्माता र शिशिर ज्ञवाली, कुन्दन गुप्ता, गणेश मगर र अनीश सिग्देल सह-निर्माता अनि लाइन प्रोड्युसरमा कोसिसराज क्षेत्री छन् । सिनेमाको स्क्रिप्ट माधव शर्माले लेखेका छन् । जसले कलेज जीवनका वास्तविक पक्षलाई सिनेमामा कलात्मक रूपमा प्रस्तुत गरेका छन् ।