मह जोडीले गरे यूएसएआईडीको पैसा खाएर हिन्दू धर्मविरुद्ध प्रचार गरेको आरोपको खण्डन

मह जोडीले गरे यूएसएआईडीको पैसा खाएर हिन्दू धर्मविरुद्ध प्रचार गरेको आरोपको खण्डन

द सिनेमा टाइम्स
70
Shares

द सिनेमा टाइम्स, काठमाडौं । वरिष्ठ हास्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले यूएसएआईडीको पैसा लिएर धर्म विरोधी काम गरेको भन्ने आरोपको खण्डन गरेका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा उनीहरुले भिडियो सन्देश जारी गर्दै आफूहरुमाथि लगाइएको आरोप सत्य नभएको बताएका हुन् ।

आफूहरुविरुद्ध अनर्गल प्रचार हुँदा चित्त दुखेको मदनकृष्ण श्रेष्ठले बताए । ‘हामीले सबैलाई आफ्नो सम्झिन्छौं, आफ्नो हितैषी सम्झिन्छौं । हितैषीहरुबाटै यस्तो आरोप सुन्नुपर्दा चित्त दुखेको,’ मदनकृष्णले भनेका छन्, ‘संसारमा राम्रा कुराहरु पनि छन्, नराम्रा कुराहरु पनि छन् । राम्रा राम्रा छानेर मात्रै हामीले काम गर्दै आएइरहेका छौं ।’

आफूहरुले कुनै पनि धर्मसम्प्रदायलाई चोट पुग्ने काम नगरेको स्पष्टीकरण अर्का हरिवंश आचार्यले पनि दिएका छन् । ‘सनातन हिन्दुधर्म, बुद्ध धर्म वा अरु कुनै पनि धर्मको विरोध हामीले गरेका छैनौं र अर्को धर्म लिनुपर्छ भनेर उकासेका पनि छैनौं । यो अनर्गल प्रचार हो,’ भिडियो सन्देशमा आचार्यले भनेका छन् ।

आफूहरुले मदनबहादुर हरिबहादुर, आमा, असल लोग्ने र विभिन्न किसिमका खोपका कार्यक्रमहरुमा काम गरेको र ती सबै युट्युबमा भएकाले हेर्न पनि उनीहरुले अनुरोध गरेका छन् । आफूहरुले २०५२ सालमा ‘पञ्चायती व्यवस्थाको श्राद्धे’ भनेर कार्यक्रम गरेको र त्यसमा एकजना पण्डित पात्रको प्रवृत्तिको व्यंग्य गरिएको बताउँदै आचार्यले अहिले त्यसैको एउटा टुक्रा सेयर गर्दै सनातन धर्मको विरोध गरेको आरोप लगाइएको बताएका छन् ।

‘पण्डित हुँदैमा भगवान हुँदैन । म पनि पण्डितकै छोरो हुँ । व्यंग्य भनेको पण्डितलाई पनि गर्न पाइन्छ, नेतालाई पनि गर्न पाइन्छ, पुलिसलाई पनि गर्न पाइन्छ, डाक्टर, वकिल सबैलाई गर्न पाइन्छ । त्यसको टुक्रा राखेर सनातन धर्मको विरोध गर्यो भन्ने कुरा चाहिँ कपोलकल्पित कुरा हो,’ अभिनेता आचार्यले भने ।

अभिनेता आचार्यले अगाडी भनेका छन्, ‘हामी हाम्रो काममा निरन्तर लागि नै रहन्छौं । यस्ता किसिमका कुराहरु आएर हामी हतोत्साही हुँदैनौं र नेपाली जनताहरुलाई यी सबै भ्रामक कुराहरुको विश्वास नगरिदिनुहुन हामी हार्दिक अनुरोध गर्दछौं ।’

मदनकृष्ण र हरिवंश अहिले फरक फरक सिनेमा काम गरिरहेका छन् । हरिवंश यतिवेला काभ्रेको पनौतीमा दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भैरहेको ‘हरिबहादुरको जुत्ता’को छायांकनमा व्यस्त छन्, भने मदनकृष्ण तुलसी घिमिरेको ‘पहाड’ र दीपक आचार्यको ‘परान’को छायांकन गर्ने तयारीमा छन् ।