‘कल्ली’को छायांकनका लागि नेपाल आइपुगे उत्तम प्रधान

‘कल्ली’को छायांकनका लागि नेपाल आइपुगे उत्तम प्रधान

द सिनेमा टाइम्स
112
Shares

द सिनेमा टाइम्स, काठमाडौं । एक समयका सफल अभिनेता उत्तम प्रधान आफ्नो कमब्याक सिनेमा ‘कल्ली’को छायांकनका लागि काठमाडौं आइपुगेका छन् । परिवारसहित भारतको सिक्किममा बस्दै आएका उनी बिहीबार बिहान काठमाडौं ओर्लिएका हुन् । उनलाई सिनेमाका प्रस्तुतकर्ता किरण नेपालीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । सिनेमाको छायांकनका लागि उत्तम ३५ दिनसम्म नेपालमा रहनेछन् ।

लक्ष्मण सुनारको निर्देशनमा निर्माण हुन लागेको सिनेमा ‘कल्ली’बाट उत्तमले १३ वर्षपछि अभिनयमा कमब्याक गर्न लागेका हुन् । उनी पछिल्लो पटक सन् २०१२ मा रिलिज भएको सिनेमा ‘इशारा’मा देखिएका थिए । उनले लामो समयपछि सिनेमामा काम गर्न आफू उत्साहित रहेको बताएका छन् । सिनेमनमा उनको भूमिकाको बारेमा निर्माण टिमले जानकारी दिएको छैन ।

लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको सिनेमामा निर्देशक सुनार स्वयंको कथा छ । हिमाल कडरिया र अमलादेवी राई सिनेमाका निर्माता हुन् । सिनेमाको कार्यकारी निर्मातामा सरोज नेपाली रहेका छन् । भोलि शनिबारबाट सिनेमाको छायांकन सुरु हुन लागेको छ ।

पौराणिक कथामा निर्माण हुने सिनेमामा उत्तमसहित सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, वर्षा राउत, नाजिर हुसेन, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, बेगम नेपाली (भटभटे माइला) लगायतको अभिनय रहनेछ । महेश दवाडीको पटकथा तथा संवाद लेखन रहेको सिनेमालाई निसाल पौडेलले छायांकन गर्नेछन् ।