द सिनेमा टाइम्स, काठमाडौं । आगामी फागुन २३ गते रिलिज हुने सिनेमा ‘होस्टेल ३’को ट्रेलर सार्वजनिक भएसँगै यसले विभिन्न रेकर्डहरू कायम गर्न थालेको दाबी निर्माण टिमको छ । शुक्रवार रिलिज भएको सिनेमा ट्रेलरले दर्शकको राम्रो प्रतिक्रियासँगै सार्वजनिक भएको २१ घण्टामा नै युट्युबमा १० लाख भ्युज पुरा गरेको छ भने विश्वका १३ देशमा ट्रेन्डिङमा रहेको छ । १० लाख भ्युज पुग्दासम्म यसले ४२ हजार भन्दा धेरै लाइक्स र ३ हजार ४ सय भन्दा धेरै प्रतिक्रियाहरू प्राप्त गरेको थियो ।
अहिले सिनेमाको ट्रेलरमा करिब १५ लाख भ्युजसहित नेपाल र कुवेतमा युट्युबको ट्रेन्डिङ अन्तरगत मुभिज सेक्सनको पहिलो स्थान हासिल गरेको ट्रेलरले खाडी मुलुकहरू, युरोपियन देशहरू, बेलायत, जापान, अस्ट्रेलिया तथा कोरियामा प्रभाव देखिएको छ । शनिबार कतारमा दोस्रो, पोर्चुगलमा तेस्रो, साउदी अरेबियामा चौंथो, रोमानिया र संयुक्त अरब इमिरेट्स (युएई) मा पाँचौं स्थान ओगट्न सफल भएको छ । यता जापान र अस्ट्रेलियामा सातौं स्थान, माल्टामा पनि सातौं स्थान, मलेसियामा एघारौं स्थान, दक्षिण कोरियामा चौधौं स्थान र बेलायतमा अट्ठाइसौं स्थान ओगटेको थियो ।
सिनेमाका निर्देशक सशान कँडेलले अग्र्यानिक रूपमा आइरहेको भ्युज देख्दा आफ्नो सपना पुरा भइरहेको महसुस गरेको बताए । ट्रेलरले प्राप्त गरेको मायाले हामीलाई हौसला प्रदान गरेको छ । १३ देशमा ट्रेन्डिङमा हुनु र छोटो समयमै १० लाख भ्युज पार गर्नु नेपाली सिनेमाका लागि गर्वको विषय हो । यो माया हाम्रो मेहनतको प्रतिफल हो । सिनेमालाई अझ राम्रो बनाउन हामीले गरेको प्रयास सफल भएको महसुस गर्दैछु,’ निर्देशक कँडेलले बताए ।
सिनेमाको ट्रेलरले कलेज तथा होस्टेल जीवनका अनुभव, रमाइला क्षणहरू तथा चुनौतीपूर्ण परिस्थितिलाई प्रस्तुत गरेको छ । ट्रेलरमा मुख्य भूमिकामा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायत रहेका छन् । अभिनेता प्रवीण खतिवडा वार्डेनको भूमिकामा छन् भने आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ पनि ट्रेलरमा देखिन्छन् ।
सिनेमाको निर्देशन सशान कँडेलले गरेका हुन् । उनी दुई दशकदेखि संगीत तथा म्युजिक भिडियो निर्देशनमा सक्रिय छन् । माधव शर्माले लेखन तथा एसोसियट निर्देशनको जिम्मेवारी सम्हालेका छन् । सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी निर्माता तथा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर सहनिर्माता र शंकर कोइराला कार्यकारी निर्माता रहेको सिनेमाका लाइन प्रोड्यूसर कोसिस राज क्षेत्री हुन् ।
सिनेमामा अर्जुन तिवारीको डिओपी, विकास दाहालको सम्पाद, हिमाल केसीको एक्शन निर्देशन, अर्जुन पोखरेल, अल्मोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकलको संगीत, प्रवीण सिंह र रोशन विश्वकर्माको कोरियोग्राफी रहेको छ । सिनेमाको वितरण काठमाडौं उपत्यकामा काफिया फिल्मस् र उपत्यका बाहिर आरआर फिल्मस्ले गर्नेछन् ।


प्रतिक्रिया