द सिनेमा टाइम्स, काठमाडौं । तुलसी घिमिरेको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘पहाड’को रोकिएको छायांकन सुरू भएको छ । गत माघ २२ गते शुभमुहूर्त गरेर छायांकन सुरू गरिएता पनि निर्देशक घिमिरेको स्वास्थ्यमा समस्या आएपछि दोस्रो दिनदेखि छायांकन रोकिएको थियो । आफ्नो स्वास्थ्य अनुकुल भएपछि फागुन ९ देखि गोरखामा छायांकन भइरहेको निर्देशक घिमिरेले जानकारी दिए ।
युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको सिनेमाले समाजको तीतो यथार्थलाई दर्शकसमक्ष ल्याउने लेखकसमेत रहेका निर्देशक घिमिरेले बताए । ‘मानव बसोबासविहीन बनेको उच्च पहाडको कथा समेटिएको छ, सिनेमाले हाम्रो दायित्व र देशको आवश्यकतालाई चित्रण गर्छ । सिनेमाको विषय अनुसार हामीले कलाकार चयन गरेका छौं । नयाँदेखि पुराना पुस्तासम्मलाई समेटेर काम गर्न पाउँदा उत्साहित छु,’ उनले भने ।
स्वास्थ्यलाभ गरेर छायांकनमा फर्किएपछि निर्देशक घिमिरेले नयाँ उर्जाका साथ काम भइरहेको बताए । ओजस्वी केसी निर्माता रहेको सिनेमालाई प्रमोद प्रधानले छायांकन गरिरहेका छन् । प्रधानले निर्देशक घिमिरेसँग अन्याय, कोसेली, चिनो र दक्षिणामा सहकार्य गरेका छन् । तीस वर्षपछि नेपाली सिनेमा छायांकनका लागि छायांकार प्रधान नेपालमा आएका हुन् । सिनेमाको छायांकन गोरखामा २५ दिन र भारतमा १५ दिन हुने निर्देशक घिमिरेले जानकारी दिए ।
भाग्यरत्न फिल्मस् प्रालिको व्यानरमा निर्माण भइरहेको सिनेमामा विपीन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, सलोना बज्राचार्य लगायतका कलाकारले अभिनय गरिरहेका छन् । निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यही सिनेमामार्फत अभिनेत्रीको रुपमा डेव्यु गराउँदै छन् । यो सिनेमाको प्राविधिक टिममा निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छिन् ।
पछिल्लो सिनेमा ‘दर्पणछाया २’ पछि निर्देशनबाट केही समय विश्राम लिएका निर्देशक घिमिरेले ‘पहाड’ मार्फत निर्देशनमा कमब्याक गरेका हुन् । सिनेमामा रञ्जित गजमेर संगीत निर्देशक र भारती घिमिरे क्रिएटिभ निर्देशक रहेका छन् । रिम्पोछे लामा थिङ्ग र सुरेश लामा थिङ्ग सह-निर्माता रहेको सिनेमा नेपालमा वैङ्कटेश इन्टरटेनमेन्ट र विदेशमा सेभेन सिज इन्टरनेशनलले वितरण गर्नेछन् । सिनेमाको पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेको हो ।


प्रतिक्रिया