युनिभर्सल सर्टिफिकेटसहित सेन्सर पास भयो ‘लाज शरणम्‌’

युनिभर्सल सर्टिफिकेटसहित सेन्सर पास भयो ‘लाज शरणम्‌’

द सिनेमा टाइम्स
98
Shares

द सिनेमा टाइम्स, काठमाडौं । चर्चित हास्य टेलिसिरियल ‘सक्किगोनि’ टिमले निर्माण गरेको सिनेमा ‘लाज शरणम्‌’ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले सिनेमालाई सबैले हेर्न मिल्ने गरी युनिभर्सल सर्टिफिकेट दिएको छ । शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सिनेमाको सेन्सर गरिएको थियो । केही प्राविधिक कारणले गर्दा बोर्डले आइतबार निर्मातालाई सर्टिफिकेट प्रदान गरेको हो ।

सिनेमा सेन्सर पास भएसँगै प्रदर्शनका लागि बाटो खुलेको निर्माण टिमले जानकारी दिएको छ । यही महाशिवरात्रि अर्थात् फागुन १४ गतेबाट सिनेमा प्रदर्शनमा आउने तयारीमा छ । फागुन ६ गते उच्च अदालत पाटनले केन्द्रीय चलचित्र जाँच समितिले प्रदर्शन अनुमति नदिँदासम्म ‘लाज शरणम्‌’को प्रचार प्रसार नगर्न र नगराउन अन्तरिम आदेश दिएको थियो । जसले गर्दा सिनेमाको रिलिज नै अन्योल बनेको थियो ।

जेलमा रहेका पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमले सिनेमामा अचिनेता सिताराम कट्टेलको क्यारेक्टर लुक्स आफ्नो अनुहारसँग मिल्ने मुखाकृति, पहिरन, जीउडाल, कपाल मिलाई शैली, हाउभाउ र लवज अनुमतिबिना प्रयोग गरिएको भन्दै अदालतमा मुद्धा दायर गरेका थिए । त्यसैको आधारमा अदालतले सेन्सरअघि सिनेमाको प्रचार प्रसार नगर्न आदेश दिएपछि सिनेमाको भविष्य सेन्सर बोर्डमा निहीत थियो । अन्ततः सेन्सर बोर्डबाट सिनेमाले प्रदर्शनको अनुमति पाएको छ ।

कुमार कट्टेलको निर्देशनमा निर्माण भएको ‘लाज शरणम्‌’मा सितारामसहित विजय बराल, अर्जुन घिमिरे, मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा, सागर लम्साल, हरिष निरौला, कमलमणि नेपाल लगायतको अभिनय छ । सेन्सर पास भएसँगै आजै सिनेमाको ट्रेलर सार्वजनिक गर्दै सिनेमाको प्रचार प्रसार सुरु गर्ने तयारी निर्माण टिमको छ । सेन्सरको निर्णय अदालतलाई जानकारी दिँदै बुधबार १४ गते नै सिनेमा नेपाल र विदेशमा एकसाथ रिलिज गर्ने तयारी भैरहेको बुझिएको छ ।