काठमाडौंको बौद्धबाट लक्ष्मण सुनार निर्देशित ‘कल्ली’ छायांकन सुरु

काठमाडौंको बौद्धबाट लक्ष्मण सुनार निर्देशित ‘कल्ली’ छायांकन सुरु

द सिनेमा टाइम्स
119
Shares

द सिनेमा टाइम्स, काठमाडौं । लक्ष्मण सुनारको निर्देशनमा निर्माण हुने सिनेमा ‘कल्ली’को छायांकन आजबाट सुरु भएको छ । काठमाडौंको बौद्धस्थित एक घरबाट सिनेमाको छायांकन सुरु गरिएको हो । अबका केही दिन यो सिनेमाको छायांकन काठमाडौंमा गरिनेछ । त्यसपछि भने बाँकी छायांकनका लागि सिनेमाको टिम जुम्ला प्रस्थान गर्नेछ ।

सिनेमाको ३५ दिन लामो सेड्यूल लिएर छायांकन सुरु गरिएको हो । आइतबार आज अभिनेता नाजिर हुसेन, अभिनेत्री वर्षा राउत, कलाकार उत्तम प्रधान लगायतको दृश्य खिचिएको छ । सिनेमाको सुटिङ सेटमा भेटिएका नाजिर र वर्षा राउतले आफूहरु श्रीमान्-श्रीमतीको भूमिकामा देखिन लागेको बताए ।

लेकाली इन्टरटेन्मेन्ट र कस्तूरी प्रोडक्सनको व्यानरमा निर्माण हुने सिनेमामा हिमाल कडरिया र अमलादेवी राईको लगानी छ । महेश दवाडीको लेखन रहेको सिनेमाका कार्यकारी निर्माता सरोज नेपाली हुन् ।

किरण नेपाली प्रस्तुतकर्ता रहेको सिनेमामा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदिप अधिकारी र बेगम नेपाली लगायतका कलाकारको अभिनय रहनेछ ।

निसाल पौडेलले छायांकन गरिरहेको सिनेमाबाट १३ वर्षपछि नेपाली रजतपटमा कमब्याक गर्न लागेका कलाकार उत्तम प्रधान सुटिङ सेटमा निकै उत्साहित देखिए । उनले भने ‘यो सिनेमाको कथावस्तु मलाई निकै मन पर्यो । मैले यसअघि गरेका सिनेमाको भन्दा भिन्न भूमिका रहेकाले काम गर्न लागेको हुँ । मलाई यो बिचमा थुप्रै सिनेमाबाट अफर पनि आएको हो । तर, आफ्नो भूमिका नै चित्त नबुझेका कारण मैले काम गरिनँ ।’

आजबाट सिनेमाको छायांकन सुरु गरिएता पनि प्रदर्शन मिति भने तय गरिएको छैन ।