द सिनेमा टाइम्स, काठमाडौं । फागुन १४ गते भोली बुधबारबाट महाशिवरात्रिको अवसरमा प्रदर्शन हुने सिनेमा ‘मायावी’को प्रिमियर शोको आयोजना गरिएको थियो । प्रिमियर शोमा सिनेमा हेर्न किर्तिपुरस्थित किर्तिपुर सिनेप्लेक्स हलमा सिनेमाकर्मी र रंग पत्रकारको बाक्लो उपस्थिति रहेको थियो ।
प्रिमियर शोमा ‘मायावी’ हेरपछि महानायक राजेश हमालले सिंगो सिनेमा क्षेत्रलाई नै चलायमान बनाउने प्रतिक्रिया दिएका थिए । सिनेमाको प्रिमियरमा कमै मात्र पुग्ने हमाल वुधबार आयोजित दिवाकर भट्टराई निर्देशित सिनेमाको प्रिमियर शोमा भने किर्तिपुरसम्म पुगेका थिए ।
सिनेमा हेर्न निकै उत्साहित रहेको बताउँदै हल छिरेका हमालले सिनेमा हेरेपछि भने–‘यो सिनेमामा हरेक कुरा छ । सिनेमाको कथावस्तुले मन छुन्छ । गीत संगीतको प्रयोग निकै उत्कृष्ट तरिकाले गरिएको छ । व्याकग्राउन्ड म्युजिक पनि उत्कृष्ट छ । कलाकारहरुले पनि निकै राम्रो काम गरेका छन् । यसैले, ‘मायावी’ले बजार तताउने कुरामा विश्वस्त छु ।’
हमालले अगाडि भने-‘मैले अहिलेसम्म हेरेको लभ स्टोरीमा यो बेग्लै छ । यो कसरी सकिन्छ भन्ने पनि थाहा पाउन सकिँदैन । मान्छेको मन नै त हो नी, जता पनि जान सक्छ भन्ने देखाएको छ । यो लभस्टोरी सिनेमा विशेष छ । सिनेमाको प्रस्तुति निकै मन पर्यो ।’
यो सिनेमाका निर्देशक दिवाकर भट्टराइको अर्को सिनेमा ‘नरसिंहाः अवतार’मा काम गरेका हमालले भने-‘मलाई उहाँ कस्तो मेकर हो भन्ने लागेको थियो । तर, यसको मेकिङ निकै राम्रो छ । यसैले, दिवाकरजीलाई वधाई दिन चाहन्छु । सिनेमाले सुरुवातदेखि अन्त्यसम्म एउटा गती समातेर अगाडि बढेको छ । यसैले, दर्शकले यो सिनेमा मन पराउनुहुन्छ भन्ने लागेको छ ।’
सिनेमा ‘मायावी’को प्रिमियरमा निर्देशक ज्ञानेन्द्र देउजा, पूर्व मिस नेपाल उषा खड्गी, कलाकारहरु सनिषा भट्टराई, उषा उप्रेती, गायक रामकृष्ण ढकाल लगायत पुगेका थिए । सिनेमाका मुख्य कलाकारहरु दीपिका प्रसाई, प्रशान्त ताम्राकार, करिष्मा श्रेष्ठ, सुशिल सिटौला, राजाराम पौडेल, अंशु महर्जन, डेव्यु अभिनेता समीम खान पनि पुगेका थिए । सिनेमाका मुख्य अभिनेता पल शाह भने अर्को एक सिनेमाको छायांकनका क्रममा रोल्पामा रहेकाले उपस्थित हुन सकेनन् ।
सिनेमा हेरेका अधिकांशले कथावस्तु र प्रस्तुतिले मन जितेको बताए । लभस्टोरी कथावस्तुमा एउटा मन छुने कथामा सिनेमा बनेको सिनेमाकर्मीको भनाई छ । धु्रव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानीमा तयार भएको यो सिनेमाले पोखराको सेरोफेरोमा रहेर कथा भन्छ । सिनेमामा प्रविन भट्टराई र करण सिंह कार्यकारी निर्माता, राजु पराजुली र सुमित वली सह-निर्माता छन् ।
क्रियटिभ सिने आर्ट्सका लागि नेम महर्जन पनि सिनेमाका लगानीकर्ता हुन् । सिनेमामा राजु विक्रम थापाको डीओपी, मिलन श्रेष्ठको सम्पादन, शम्भुजित बास्कोटा र एसडी योगीको संगीत, कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी छ ।





प्रतिक्रिया