अनिल योञ्जन निर्देशित धिरज र मिरुनाको ‘कुस्ती’ छायांकन सुरु

अनिल योञ्जन निर्देशित धिरज र मिरुनाको ‘कुस्ती’ छायांकन सुरु

द सिनेमा टाइम्स
147
Shares

द सिनेमा टाइम्स, काठमाडौं । कलाकार बुद्धी तामाङको पहिलो निर्माण रहेको सिनेमा ‘कुस्ती’ छायांकन सुरू भएको छ । मंगलवार साँझ काठमाडौं मातातीर्थमा शुभमुहुर्त पुजा गर्दै अभिनेता धीरज मगर, पुस्कर गुरुङ, लुनिभा तुलाधरको दृश्य खिच्दै छायांकन सुरू गरिएको लेखक तथा निर्देशक अनिल योञ्जनले बताए ।

‘सहरको कथा भएकाले हामीले काठमाडौं आसपासमा छायांकन गर्ने छौं । सम्बन्धमा रहेको एक जोडीको कथा रहेको सिनेमामा उनीहरु एक अर्कालाई धेरै माया गर्छन्, तर आ-आफ्नो स्वभावले गर्दा एकसाथ रहन कठिनाईको सामना गरिरहेका हुन्छन् । दर्शकले यो जोडीबाट गर्ने अपेक्षालाई पूर्ण गर्ने हाम्रो प्रयास रहनेछ’, निर्देशक योञ्जनले भने ।

अनुषा सिनेमावुड पिक्चर्स प्रालिको व्यानरमा निर्माण हुने सिनेमामा धीरज मगर, मिरुना मगर, बुद्धी तामाङ, दीकिला शेर्पा, रवीन्द्र झा, पुष्कर गुरुङ, राजाराम पौडेल, किरण केसी, लुनिभा तुलाधर, सूर्यमान लिम्बू, अरविन गुरुङ, रजनी गुरुङ, सुवर्ण थापा लगायतका कलाकारको अभिनय रहेनछ ।

आफ्नो पहिलो सिनेमा निर्माण भएकाले उत्साहितसँगै केही नर्भस रहेको अभिनेता बुद्धी तामाङले बताए । उनले भने, ‘कलाकारिता बटुलेको अनुभवलाई सिनेमा निर्माणमा प्रयोग गरेको छु । एउटा राम्रो कथा र राम्रो टीम पाएकाले म निर्माताको रुपमा अगाडि आउन सफल भएको हुँ । हामीले देखेको सपना छिटै पुरा भएर पर्दामा आउँदै छ ।’ उनले काठमाडौं आसपासमा ४५ दिनको सेड्युल तय गरेर छायांकन सुरू गरेको जानकारी दिए ।

सिनेमामा उमङग शाहीको छायांकन, मित्रदेव गुरुङको सम्पादन, दीपक शर्मा, अनिल योञ्जन, कल्याण सिंहको संगीत, शिशिर खातीको नृत्य निर्देशन रहनेछ । सिनेमामा ड्रेस आइआइएफटी (धीरज एण्ड मिरुना) र बोमी राईले स्टाइलिस गरेका छन् । काठमाडौं रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट तथा मोफसल एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्ने फिल्म आउँदो वर्ष विसं २०८२ को भदौमा प्रदर्शन हुनेछ ।