द सिनेमा टाइम्स, काठमाडौं । सन्तोष सेन निर्देशित प्रतिक्षित सिनेमा ‘बलिदान’को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्देशक सेनले शुक्रबार सिनेमाको पोस्टर सार्वजनिक गर्दै सिनेमालाई २०८२ सालको फूलपाती अर्थात् असोज १३ मा रिलिज गर्ने घोषणा गरेका छन् ।
सिनेमाका मुख्य अभिनेता समीर भट्टको दुई पोस्टर लुक्स सार्वजनिक गर्दै नेपालको सार्वभौम भूमिमा भइरहेको शोषण, अन्याय र समाजका तथाकथित नाइकेहरूको विरुद्धको संघर्षमा सिनेमाको कथा केन्द्रित रहेको उल्लेख गरेका छन् । सार्वजनिक पहिलो पोस्टरमा पृष्ठभूमिमा कालिमातालाई राखिएको छ भने समीरले हातमा त्रिशूलसहितको ठुलो हतियार बोकेका छन्, जहाँ उनी आफ्नो लक्ष्य पुरा गरेपछिको भावमा देखिएका छन् ।
निर्देशक सेनका अनुसार यो पोस्टरमा समीरले दानव प्रवृत्तिका मानिसहरूको बलि चढाएपछिको दृश्य हो । दोस्रो पोस्टरमा समीर यत्रतत्र छरिएका लासहरूको बीचमा छन्, जहाँ उनले एक व्यक्तिको खुट्टा तानेर लतारिरहेका छन् । यो पोस्टरले समीर नरसंहारमा रहेको संकेत गर्छ । सिनेमाको सम्पादन प्रक्रियामा टिमले अपार मेहनत गरिरहेको छ ।
‘जव मैले यो सिनेमा निर्माण गर्ने सोच बनाएँ, तव यति ठुलो बलिदान दिनुपर्छ भन्ने कल्पनासम्म गरेको थिइनँ । जीवनभर बगाएको रगतपसिनामध्ये सबैभन्दा धेरै यसैमा बगाएको महसुस भएको छ,’ उनले भने । सिनेमाको कथा लेखकसँगको निरन्तर संवादपछि तयार पारिएको सेनले जनाए । यो कथा कुनै एउटा समयको मात्र नभई, हिजो, आज र भोलीसम्मको सन्देश बोकेको छ ।
सिनेमामा दक्षिण भारतीय चर्चित एक्सन निर्देशक सामको नेतृत्वमा करिब ३० जनाको टोलीले अत्याधुनिक प्रविधिबाट एक्सन दृश्य खिचेको छ । विशेष गरी, सिनेमाको क्लाइमेक्स दृश्यका लागि बुढासुब्बा मैदानमा ४२ फिट अग्लो कालीमाताको भव्य मूर्ति निर्माण गरिएको थियो, जसले निकै चर्चा बटुलेको थियो ।
सिनेमामा अभिनेता समीर भट्ट प्रमुख भूमिकामा छन् । उनीसँगै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा लगायतका कलाकारको पनि अभिनय रहेको छ । सिनेमाको संगीत आर्टमान्डु टिमको सहकार्यमा तयार पारिएको छ । गायक सुजन चापागाई, गीतकार हर्क साउद र निर्देशक नवीन चौहान सहितको समूहले सिनेमाका गीत, ब्याकग्राउन्ड म्युजिक र अन्य सांगीतिक पक्षमा काम गरिरहेको छ ।
आसुसेन फिल्मस्को प्रस्तुति रहेको सिनेमाका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् । सिनेमामा प्रेम पुरी कार्यकारी निर्माताको रूपमा छन् ।



प्रतिक्रिया