द सिनेमा टाइम्स, काठमाडौं । फागुन १४ गते बुधबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘मायावी’को नयाँ गीत सार्वजनिक भएको छ । रिलिजको भोलिपल्ट यसको निर्माणपक्षले सिनेमाको गीत सार्वजनिक गरेको हो ।
एसडी योगीको स्वर र संगीतमा समावेश यो गीतमा राम अविरल बिष्टको शब्द छ । यो गीतलाई हलमा सिनेमा हेरेका दर्शकले पनि निकै रुचाएका छन् । गीतको भिडियोमा सिनेमाका मुख्य तीन कलाकारहरु पल शाह, दीपिका प्रसाईं र डेव्यु सिनेमा समिम खानलाई फिचरिङ गरिएको छ । यो गीतको भिडियोले पनि सिनेमा त्रिकोणात्मक प्रेमकथामा बनेको वुझ्न सकिन्छ ।
दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो सिनेमामा पल शाह, दीपिका प्रसाई, प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिष्मा श्रेष्ठ, समीम खान, राजाराम पौडेल, अंशु महर्जन, लक्ष्मी गिरी लगायतका कलाकारको अभिनय छ ।
ध्रुव न्यौपाने, राज कटुवाल, चन्द्र पन्तको लगानी छ । फिल्ममा प्रविन भट्टराई र करण सिंह कार्यकारी निर्माता, राजु पराजुली र सुमित वली सह–निर्माताको रुपमा छन् । क्रियटिभ सिने आर्टस्का लागि सिनेमामा नेम महर्जनको पनि लगानी छ ।
राजु विक्रम थापाको डीओपी रहेको सिनेमामा मिलन श्रेष्ठको सम्पादन, कविराज गहतराज र प्रविण खतिवडाको कोरियोग्राफी छ । सिनेमा ‘मायावी’ रिलिजको दिनबाटै टिकटकमा पाइरेसी भएको छ । सिनेमाको महत्वपूर्ण दृश्य समेत टिकटकमा भाइरल छन् । टिकटकमा सिनेमाको क्लाइमेक्स समेत खिचेर दर्शकले पोष्ट गरेपछि निर्माणपक्ष केही तनावमा पनि देखिएको छ ।
सिनेमाका लेखक तथा निर्देशक दिवाकर भट्टराइले महत्वपूर्ण दृश्य खिचेर टिकटकमा नराखिदिन आग्रह गरेका छन् । यसको निर्माणपक्षले साइबर ब्यूरोमा उजुरी दिने तयारी गरेको छ । सिनेमाले बुधबार सुखद ओपनिङ गरेको थियो । शुक्रबार शनिबार बिदा भएकाले पनि सिनेमाले सुखद कमाई गर्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया